काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउने निर्देशन दिएका छन्। उनले सवारी दुर्घटना न्यूनीकरणमा ध्यान दिन र उपत्यकामा ट्राफिक व्यवस्थापनमा सबै सरोकारवाला निकायलाई सक्रिय रहन आग्रह गरेका छन्।

मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको बैठकमा उपत्यकाको ट्राफिक व्यवस्थापनको वर्तमान अवस्था र चुनौतीहरूबारे विस्तृत छलफल गरिएको थियो। बैठकमा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले ट्राफिक व्यवस्थापनका विभिन्न पक्षहरू प्रस्तुत गरेका थिए।

advertisement

बैठकले निम्न निर्णयहरू गरेको छ:

  • सामग्री तथा उपकरण उपलब्ध गराउने: ट्राफिक प्रहरीलाई उपयुक्त उपकरण र सामाग्री उपलब्ध गराउने जिम्मेवारी श्रम, रोजगार तथा यातायात मन्त्रालयले लिने।

  • सवारी इजाजत पत्र व्यवस्थापन: उपत्यका र उपत्यकाभन्दा बाहिर सञ्चालन हुने सार्वजनिक सवारीहरूको रुट पर्मिट विद्युतीय प्रणालीमार्फत व्यवस्थित गर्ने।

  • सवारी चालक अनुमति पत्र अभिमुखीकरण: सम्बन्धित जिल्लाको यातायात कार्यालय र ट्राफिक प्रहरीसँग समन्वय गरी अनुमति पत्रधारीलाई ट्राफिक नियमसम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन गर्ने।

  • ट्राफिक लाइट व्यवस्थापन: आवश्यक स्थानमा ट्राफिक लाइट जडान गर्ने, स्थानीय तहसँग समन्वय गरी लाइटको नियन्त्रण र सञ्चालन ट्राफिक प्रहरीले गर्ने।

  • जनचेतना कार्यक्रम: ट्राफिक प्रहरीसँग मिलेर सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियम र सावधानीसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।

  • समस्या र समाधानको छलफल: यातायात व्यवस्थापनका विभिन्न समस्याहरूको समाधानका लागि यातायात कार्यालय, ट्राफिक प्रहरी, यातायात व्यवसायी र अन्य सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने।

मुख्यमन्त्री बानियाँले सबै निकायलाई समन्वयात्मक रूपमा काम गर्न आग्रह गर्दै उपत्यकामा व्यवस्थित, सुरक्षित र प्रभावकारी ट्राफिक व्यवस्थापन कार्यान्वयनमा जोड दिएका छन्।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com