काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरूले आन्दोलनरत किसानका माग सम्बोधन, बाढी–पहिरोले अवरुद्ध सडक सञ्चालन, निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्ने, तथा स्थानिय उत्पादनको बजार विकासजस्ता विषय उठाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विगत ९५ दिनदेखि भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै सुनुवाइ नभएको गुनासो व्यक्त गरे। रास्वपाका सांसद ज्ञानबहादुर शाहीले जुम्लाको स्याउको बजारीकरण र अर्गानिक उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिए।
नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमलसेनाले तराईका जिल्लामा खानेपानीको अभाव र उखु किसानका माग सम्बोधनको आवश्यकतामा सरकारको ध्यानाकर्षण गराए। माओवादी केन्द्रका सांसद जनार्दन शर्माले एम्बुलेन्स सेवामा नयाँ निर्देशिकाका कारण परोपकारी र सामुदायिक एम्बुलेन्सले सेवा दिन नसकेको विषय उठाए।
त्यस्तै, कांग्रेसका रामकृष्ण यादवले कमला नदीमा भासिएको पुल र उखु किसानले राजमार्ग अवरुद्ध गर्ने सम्भावनाबारे चेतावनी दिँदै जायज माग सम्बोधनको आवश्यकता औँल्याए। माओवादी केन्द्रका देवेन्द्र पौडेल र रामकुमार राईले सडक अवरुद्ध र स्वास्थ्य सेवामा अभावका विषयहरू उठाए।
कांग्रेसकी रमा कोइराला पौड्यालले भक्तपुर सूर्यविनायक भीमसेनस्थान नजिकैको पहिरो र कुवेतमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन नसकिएको विषयमा सरकारको ध्यानाकर्षण गराइन्। माओवादी केन्द्रकी छिरिङ ल्हामु लामा तामाङले कर्णाली क्षेत्रका माग सुनुवाइ हुन नसकेको विषय उठाइन्।
बैठकमा उठाइएका यी विषयले स्थानीय विकास, सार्वजनिक सेवा र किसान अधिकारसँग सम्बन्धित तत्काल ध्यानाकर्षण आवश्यक भएको देखाउँछ ।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार













प्रतिक्रिया