काठमाडौं । नेकपा (एमाले)ले भदौ २० गतेदेखि सुरु हुने दोस्रो विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरूसँग कुनै शुल्क नलिने निर्णय गरेको छ। यसअघि प्रतिनिधिसँग शुल्क लिने परम्परा रहे पनि यसपटक पूर्ण रूपमा शुल्क रहित व्यवस्था गर्ने एमालेले जनाएको छ।
बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले उक्त निर्णयको जानकारी दिँदै भने, ‘विगतमा शुल्क उठाउने चलन थियो, तर यसपटक पार्टी केन्द्रबाटै सम्पूर्ण खर्च व्यवस्थापन गर्ने निर्णय गरेका छौँ।’ उनले महाधिवेशनमा कति खर्च लाग्ने भन्ने अनुमान अहिले गर्न नसकिने उल्लेख गर्दै अधिवेशन सम्पन्न भएपछि सम्पूर्ण हिसाब–किताब सार्वजनिक गर्ने आश्वासन पनि दिए।
महासचिव पोखरेलले एमालेलाई खर्चको पारदर्शी विवरण राख्ने एक मात्र पार्टीको रूपमा चिनाउँदै यसपालि पनि स्पष्ट र खुला हिसाब प्रस्तुत हुने बताए।
पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रतिनिधिहरूको खानपानको व्यवस्था पार्टीले नै गर्नेछ भने आवासको जिम्मेवारी भने प्रतिनिधिले आफैँले गर्ने भएकाले शुल्क नलिने निर्णय गरिएको हो।
विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका रूपमा ३१५ जना सहभागी हुने भएकाले जम्मा २ हजार ३ सय ४१ जनाको उपस्थिति रहने एमालेले जनाएको छ।
महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्। महासचिव शङ्कर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
त्यस्तै, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।
प्रतिवेदनहरू माथि सहभागी प्रतिनिधिहरूबीच समूहगत छलफल हुनेछ। महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्व चयन गर्ने कार्य पनि सम्पन्न गर्नेछ।
ललितपुरको गोदावरीमा हुने महाधिवेशनअघि बिहीबार दिउँसो ३ बजे एमाले केन्द्रीय सचिवालय बैठक बसेर प्रस्तुत प्रतिवेदन र प्रस्तावलाई अनुमोदन गर्ने निर्णय लिने बताइएको छ।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार













प्रतिक्रिया