काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाम दुरुपयोग गरी धम्की दिएर पैसा असुल्न खोज्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ टोखा–८ निवासी एक व्यक्तिलाई फोनमार्फत “तपाईंसहित परिवारको नागरिकता नक्कली छ, अख्तियारले अनुसन्धान गरिरहेको छ” भन्दै डर देखाइ एक करोड रुपैयाँ मागिएको थियो। फाइल बन्द गरिदिने नाममा पैसा नदिए तुरुन्तै पक्राउ गरी जेल हाल्ने धम्की समेत दिइएको प्रहरीले जनाएको छ।
पीडितले उजुरी दिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली परिचालन गरिएको थियो। सोही क्रममा अनुसन्धान अघि बढाउँदै डोटी शिखर नगरपालिका–९ का २७ वर्षीय लक्ष्मण पनेरु र झापा हरिनगर गाउँपालिका–७ का ५४ वर्षीय विनोद साहलाई भदौ १७ गते काठमाडौँ–१४ कलंकीबाट पक्राउ गरिएको हो।
पक्राउ परेकासँग चार थान मोबाइल फोन, दुई लाख रुपैयाँ नगद तथा सेतो रंगको फोर्ड फिगो कार बरामद गरिएको छ। उनीहरूलाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार












प्रतिक्रिया