काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई औपचारिक रूपमा दर्ज्यानी चिन्ह (फुली) प्रदान गरिएको छ। बिहीबार गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा गृहमन्त्रीका सचिव गोकर्णमणि दुवाडीले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई ३२औँ प्रहरी महानिरीक्षकको रूपमा नियुक्त गर्ने निर्णय गरेको थियो।
प्रहरी ऐन र नियमावलीका कारण आईजीपी खापुङको कार्यकाल भने छोटो रहनेछ। संसदमा दर्ता भएको नयाँ प्रहरी विधेयक पारित नभएसम्म उनी करिब २ महिना ७ दिन मात्र प्रहरी संगठनको नेतृत्वमा रहनेछन्।
२०५२ साल कार्तिक २७ गते प्रहरी निरीक्षक पदमार्फत सेवामा प्रवेश गरेका खापुङ ३० वर्षे सेवा अवधि पूरा गर्दै आगामी कार्तिक २६ मा अवकाश लिनेछन्।
२०२७ साल मङ्सिर २३ गते तेह्रथुमको मेन्छ्यायोम गाउँपालिका–६ मा जन्मिएका खापुङले जेन्डर स्टडिजमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्। सेवाकालमा उनले विभिन्न जिम्मेवारीसमेत वहन गरेका छन्। निरीक्षक हुँदा मोरङको बेलबारी इलाका प्रहरी कार्यालयमा काम गरेका उनले, डीएसपी भएपछि चापागाउँ प्रहरी वृत्त, धरान इलाका प्रहरी कार्यालय र दरबारमार्ग प्रहरी वृत्तको नेतृत्व गरेका थिए।
२०७३ पुसमा एसपीमा बढुवा भएपछि उनले जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा जिम्मेवारी सम्हाले। २०७७ वैशाखमा एसएसपी बनेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएर काम गरे। त्यस्तै, काभ्रेस्थित प्रदेश प्रहरी कार्यालयको पनि कमान्ड सम्हालेका थिए।
२०८० वैशाख ६ मा डिआइजीमा पदोन्नति पाएका खापुङ कोशी प्रदेश प्रहरी प्रमुखका रूपमा खटिए। त्यतिमात्र नभई उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत जिम्मेवारी सम्हालेका थिए। उनले इटाली, चीन र भियतनामसहित विभिन्न मुलुकमा गरी १४ भन्दा बढी तालिम लिएका छन्।
प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया