बेइजिङ । चीनको राजधानी बेइजिङमा विजय दिवसको अवसरमा आयोजित भव्य सैन्य परेडका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अनौपचारिक कुराकानी बाहिरिएको छ। दुबै नेताले अङ्ग प्रत्यारोपण र बायोटेक्नोलोजीमार्फत मानव आयु दीर्घकालीन बनाउन सकिने विषयमा छलफल गरेको कुरो हट माइक्रोफोन मार्फत सार्वजनिक भएको हो।

चीनको ऐतिहासिक तियानमेन स्क्वायरमा उत्तर कोरियाली नेता किम जोङ उनसँगै हिँडिरहेका बेला गरिएको यो संवाद चीनको सरकारी टेलिभिजनको प्रत्यक्ष प्रसारणमै कैद भएको थियो।

advertisement

सी र पुटिन क्रमशः १३ र २५ वर्षदेखि सत्तामा छन् र दुवैले अहिलेसम्म पद त्याग गर्ने संकेत दिएका छैनन्। विजय दिवसको औपचारिक कार्यक्रममा विश्वव्यापी शक्ति सन्तुलनबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेका यी नेताहरू व्यक्तिगत स्तरमा भने बायोटेक्नोलोजी र दीर्घायुको सम्भावनाबारे बढी उत्साहित देखिएका थिए।

कुराकानीका क्रममा पुटिनका लागि मन्दारिन अनुवादक र सिका लागि रुसी अनुवादक राखिएका थिए। प्रसारणमा सुन्न सकिएको अनुसार, सीले भनेका थिए, ‘पहिलेका दिनमा मानिसहरू ७० वर्षभन्दा बढी बाँच्दैनथे, तर अहिले ७० वर्षकै मानिस अझै युवा जस्तै हुन्छ।’त्यसपछि पुटिनले भनेका थिए, ‘बायोटेक्नोलोजीले अङ्ग प्रत्यारोपणलाई निरन्तर सम्भव बनाएको छ। यसले मानिसलाई अझ युवा राख्दै अमरत्वजस्तो अनुभव दिलाउन सक्छ।’

यसमा प्रतिक्रिया दिँदै सीका अनुवादकमार्फत भनिएको थियो, ‘भविष्यवाणी अनुसार यो शताब्दीमा मानिसहरू १५० वर्षसम्म बाँच्न सक्छन्।’

परेडपछि रुसी सञ्चारमाध्यमसँग कुरा गर्दै पनि पुटिनले दीर्घायु सम्भावना सम्बन्धी आफ्नो अभिव्यक्ति दोहोर्याए। रुसी समाचार संस्था तास का अनुसार उनले फरक–फरक मुलुकमा औसत आयु भिन्न भए पनि आगामी वर्षहरूमा यसको उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

यसैबीच, दोस्रो विश्वयुद्धको ८०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको सैन्य परेडमा चीनले अत्याधुनिक शस्त्रास्त्र सार्वजनिक गरेको थियो। तीमध्ये विश्वभर प्रहार गर्न सक्ने क्षमता भएका परमाणु मिसाइल समेत प्रदर्शित गरिएका थिए।

बुधबारको परेडमा पहिलोपटक चीन, रुस र उत्तर कोरियाका शीर्ष नेता एउटै मञ्चमा देखिएका थिए, जसलाई धेरैले पश्चिमी मुलुकहरूलाई प्रष्ट सन्देशका रूपमा लिएको छन्। कार्यक्रममा पुटिन र किमसहित अन्य २४ देशका उच्चस्तरीय नेताहरूको उपस्थिति थियो।

विश्लेषकहरूका अनुसार यस परेडमार्फत चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका अतिरिक्त भन्सार महसुल (ट्यारिफ) को प्रतिरोधस्वरूप आफ्नो सामरिक शक्ति प्रदर्शन गर्न खोजेको हो। सोही दिन ट्रम्पले चीनमाथि रुस र उत्तर कोरियासँग मिलेर षड्यन्त्र गरिरहेको आरोप समेत लगाएका थिए।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com