बेइजिङ । रुससँग कच्चा तेल खरिदको विषयलाई लिएर हालै अमेरिकाले भारतमाथि कडा आलोचना गरिरहेको बेला, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र चीनप्रति वाशिङ्टनको दृष्टिकोणप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
बुधबार चीनमा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले भने, ‘अमेरिकाले भारत र चीनसँग यस्तो व्यवहार गर्ने अधिकार छैन। भारतसँग करिब १.५ अर्ब जनसङ्ख्या छ, चीन बलियो अर्थतन्त्र भएको मुलुक हो। यी राष्ट्रहरूको आफ्नै राजनीतिक प्रणाली र संरचना छन्, त्यसलाई सम्मान गर्नुपर्छ।’
उनले थपे, ‘यी देशहरूको इतिहास निकै जटिल छ। उनीहरूले लामो समय उपनिवेशवादको सामना गरेका छन्। त्यसैले, यदि उनीहरूले कमजोरी देखाए भने त्यो उनीहरूको राजनीतिक अस्तित्वकै अन्त्य हुनेछ भन्ने कुरा बुझ्न जरुरी छ।’
पुटिनले अहिले उपनिवेशवादी मानसिकताको युग समाप्त भइसकेको बताउँदै, अमेरिकाले अझै पनि त्यसै आधारमा व्यवहार गर्न खोज्नु अस्वीकार्य भएको टिप्पणी गरे।
‘अन्ततः सबै कुरा आफ्नो स्थानमा फर्किन्छ। अनावश्यक राजनीतिक बयानबाजी पनि हराउँछ,’ पुटिनले भने।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा ५० प्रतिशतसम्म अतिरिक्त भन्सार लगाउने घोषणा गरेका थिए। भारतले रुसबाट ठूलो मात्रामा तेल किनेर युक्रेन युद्धलाई अप्रत्यक्ष आर्थिक सहयोग गरिरहेको आरोप लगाउँदै ट्रम्पले यस्तो निर्णय लिएका हुन्।
अमेरिकी तर्कअनुसार भारतमाथि दबाब सिर्जना गरेर रुसलाई युक्रेनमा युद्धविरामका लागि बाध्य पार्न सकिन्छ। तर पुटिनले भने भारत र चीनजस्ता शक्तिशाली राष्ट्रलाई यस्तो दबाबले प्रभाव पार्न नसक्ने दाबी गरेका छन्।
प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया