काठमाडौं । निर्वाचन आयोगले २०७९ सालको समानुपातिक सूचीमा नाम समावेश भएका व्यक्तिहरूले उम्मेदवार बन्न नपाउने कानुनी प्रावधान बारे सूचना प्रकाशित गरेको छ। बुधबार जारी सूचनामा आयोगले उपनिर्वाचनको क्रममा समानुपातिक सूचीमा रहेका व्यक्तिहरू उम्मेदवार बन्न अयोग्य हुने कुरा स्पष्ट पारेको हो।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ का प्रस्तावित उम्मेदवार डा. लेखजंग थापाको योग्यताबारे केही प्रश्न उठेका थिए। तर आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समानुपातिक सूचीबाट उनको नाम हटाइसकेको र त्यसैले उनले उम्मेदवार बन्न सक्ने जनाएको छ।

advertisement

थापा अघिल्लो निर्वाचनमा नाउपाको समानुपातिक बन्द सूचीमा थिए। हाल उनी पाँच महिनाअघि मात्रै रास्वपा प्रवेश गरी आन्तरिक निर्वाचन प्रक्रियाबाट उम्मेदवार प्रस्तावित भएका छन्।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले थापाको उम्मेदवारी कानुनी रूपमा बाधक नरहेको बताए। उनले भने, ‘प्रचलित कानुन अनुसार समानुपातिक बन्द सूचीमा नाम भएका व्यक्ति प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यको उम्मेदवार बन्न अयोग्य हुन्छन्। तर सम्बन्धित दलको केन्द्रीय समितिले बन्द सूचीबाट नाम हटाउने निवेदन आयोगमा पेश गरेमा उम्मेदवार बन्न सकिन्छ। लेखजंग थापाको हकमा नाउपाले निवेदन दिइसकेकाले उनको नाम हटाएर बाँकी सूची अध्यावधिक भइसकेको छ। त्यसैले कानुनले उनी उम्मेदवार बन्न रोक्दैन।’

प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा १४ को उपदफा २ अनुसार, समानुपातिक सूचीमा नाम भएका व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार हुन सक्दैनन्। यसैगरी, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ उम्मेदवार रहेका व्यक्तिको नाम समानुपातिक बन्द सूचीमा समावेश गर्न पाइँदैन।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com