काठमाडौं । सरकारले फेसबुक, ट्विटर (एक्स), युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को पूर्व निर्णय कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त कदम उठाएको हो।
सरकारले आजदेखि नै ती सामाजिक सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार मन्त्रालयमा बिहीबार बसेको बैठकले नेपालमा दर्ता नहुएका सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मलाई बन्द गर्ने निर्णय गरेको हो। यद्यपि, ती प्लेटफर्महरूले दर्ता प्रक्रिया पूरा गरेपछि क्रमशः पुन: सञ्चालन गर्ने व्यवस्था छ।
यसअघि सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर–द–टप (ओटीटी) एप्सलगायत इन्टरनेट ब्राउजरमा प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउन र आवश्यक कानुन निर्माण गर्न सरकारलाई परमादेश जारी गरेको थियो।
न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले बुधबार सरकारले विदेशी प्रसारण संस्थालाई नेपालमा प्रसारण अनुमति लिनुपर्ने व्यवस्था लागू गर्नुपर्ने तथा आवश्यक कानुन निर्माण गर्न आदेश दिएको थियो।
प्रसारण नियमावलीअनुसार कुनै विदेशी प्रसारण संस्था वा डिजिटल सामग्री उत्पादकले आफ्नो मुलुकबाट प्रसारण गरेको कार्यक्रम नेपालमा डाउनलिंक गरी प्रसारण गर्न चाहनेले अनुमति लिनुपर्ने व्यवस्था छ। सर्वोच्च अदालतको परमादेशले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मलाई नियमन गर्न सरकारलाई कानुनी आधार प्रदान गरेको छ।
प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया