काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ। पार्टीले वर्षायाम र चाडपर्व सकिएलगत्तै आन्दोलन सुरु गर्ने जनाएको छ।
बिहीबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकपछि पार्टीका प्रवक्ता अग्नि प्रसाद सापकोटाले भने, ‘सरकारले जनताको माग सम्बोधन गर्न सकेको छैन। सुशासन कमजोर हुँदै गएको छ, भ्रष्टाचार बढ्दो छ। यस्तो अवस्थामा हामी सडक संघर्षतर्फ जान बाध्य छौं।’
उनका अनुसार आन्दोलनमा तात्कालीन कार्यनीतिक मुद्दादेखि संविधानले व्यवस्था गरेको लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख राज्य व्यवस्था र त्यससम्बन्धी स्पष्ट दृष्टिकोणलाई जनतामाझ उठाइनेछ।
बैठकले मध्यपहाडी लोकमार्गमा आगामी भदौ २१ देखि अभियान पुनः सुरु गर्ने निर्णय पनि गरेको छ।
प्रवक्ता सापकोटाले पार्टीभित्रको अनुशासन, गुट–उपगुट अन्त्यजस्ता विषयमा समेत छलफल भए पनि निष्कर्ष ननिस्किएको जानकारी दिए।
प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया