काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देश निर्माणको आधारभूत र सबैभन्दा महत्त्वपूर्ण क्षेत्र राजनीति भएको बताएका छन्।
पूर्वसांसद मञ्चको २६औँ स्थापना दिवसका अवसरमा बिहीबार संसद् भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीति सही बाटोमा गए मात्र देशले विकास र समृद्धि हासिल गर्न सक्ने धारणा राखे।
सभामुख घिमिरेले राजनीति असन्तुलित भएमा यसको असर विज्ञानदेखि अर्थतन्त्र र सामाजिक क्षेत्रसम्म देखिने बताउँदै नेपालले यस अनुभव भोगिसकेको उल्लेख गरे।
उनले भने, ‘देश निर्माण गर्ने आधार राजनीति नै हो। राजनीति सही दिशामा उन्मुख भए मात्र देशले प्रगति गर्न सक्छ। विज्ञानलाई वैज्ञानिक ढङ्गले प्रयोग गर्न, अनुसन्धान र अन्वेषणमार्फत अघि बढाउन सकिन्छ। तर राजनीति बिग्रिएमा सबै क्षेत्र प्रभावित हुन्छन्। यो हामीले विगतमा अनुभव गरिसकेका छौँ।’
उनका अनुसार, लामो इतिहास भोगेका पूर्वसांसदहरूले यसबारे अझ प्रष्ट बुझेका छन्।
सभामुख घिमिरेले पूर्वसांसदहरूको योगदानको प्रशंसा गर्दै भने, ‘संविधानले तोकेका लक्ष्य पूरा गर्न, संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन, सरकार निर्माण र संसद् सञ्चालनमा तपाईंहरूले देखाउनुभएको अनुभव आज पनि मार्गदर्शक छ।’
प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया