काठमाडौं । पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्यादेवी भण्डारीले आफ्नाे पार्टी सदस्यता नवीकरण भइसकेको भए पनि त्यसलाई प्रश्नमा पारिएकोमा गम्भीर आपत्ति जनाएकी छिन्। एमाले केन्द्रीय कमिटीको हालैको बैठकको निर्णयमार्फत आफ्नो सदस्यतामाथि अनावश्यक विवाद सिर्जना गरिएको भन्दै उनले खुला पत्रमार्फत नेताकार्यकर्ताको ध्यानाकर्षण गराएकी हुन्।
भण्डारीले आफ्नो जीवन नै पार्टी, जनता र लोकतान्त्रिक आन्दोलनका लागि समर्पण गरेको उल्लेख गर्दै सदस्यता विवादलाई व्यक्तिगत नभई पार्टीको विधि, मूल्य र लोकतान्त्रिक संस्कृतिसँग जोडिएको विषय बताइन्। उनले भनिन्, “राष्ट्रपतिमा निर्वाचित भएपछि जिम्मेवारीबाट अलग भएँ, तर पार्टी नेतृत्वकै सल्लाहअनुसार सदस्यता नवीकरण गरिसकेको हुँ। अहिले आएर यसलाई नमान्नु दुःखद छ।”
उनका अनुसार २०८२ असार १४ गते मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आफ्नो सदस्यता नवीकरण भएको सार्वजनिक घोषणा गरिसकेकी थिइन्। त्यसपछि समेत सचिवालयदेखि केन्द्रीय कमिटीसम्मका बैठकहरूमा कहिल्यै प्रश्न नउठेको तर हाल आएर शंका पैदा गरिनु अनौठो भएको उनको भनाइ छ।
भण्डारीले एमालेको वैचारिक आधार जबज (जनताको बहुदलीय जनवाद) र जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार आफ्नो नवीकृत सदस्यता वैधानिक भएको दाबी गर्दै भनिन्, “पार्टीले विधि र विधानको रक्षा नगरे लोकतान्त्रिक संस्कृतिमै चोट पुग्छ। यस्तो प्रवृत्तिले संगठन मात्र होइन, जनताको आस्थामासमेत चोट पुर्याउँछ।”
उनले आफ्ना विरुद्ध निरन्तर व्यंग्य र घोचपेच गर्ने प्रवृत्ति पार्टीमा छिरेको भन्दै सचेत गराइन्। “मेरो सदस्यता निष्क्रिय बनाउने प्रयास केवल व्यक्तिगत विषय होइन, यो पार्टीको लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने कुरा हो,” उनले पत्रमा लेखेकी छिन्।
पूर्वराष्ट्रपतिले पार्टीभित्र एकता, समझदारी र लोकतान्त्रिक संस्कारलाई मजबुत बनाउन सबै सदस्य गम्भीर बन्नुपर्ने आग्रह गरिन्। उनले भनिन्, “पार्टी बलियो भयो भने मात्र देश बलियो हुन्छ। जबजले अंगालेका सामाजिक–आर्थिक नीति कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न सकिन्छ।”
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया