काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह (केयर वर्क) लाई केवल पेशा वा रोजगारीको अवसरका रूपमा मात्र नभई मानवतासँग प्रत्यक्ष जोडिएको सेवा मान्नुपर्ने धारणा व्यक्त गरेकी छन्।

काठमाडौँमा सुरु भएको एसिया प्यासिफिक केयर लर्निङ सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारलाई सम्बोधन गर्दै उनले भनिन्, ‘शिशुदेखि वृद्धावस्था सम्म आवश्यक हेरचाहका सबै कार्यलाई काम वा जागिरको सीमित परिभाषामा मात्र राख्न सकिँदैन। यो त गहिरो मानवीय सेवासँग सम्बन्धित जिम्मेवारी हो।’

advertisement

उनका अनुसार घर, समुदाय र राष्ट्रियस्तरमा हेरचाह कार्यको महत्वबारे पर्याप्त मूल्यांकन भएको छैन। अर्थतन्त्रमा यसको ठूलो योगदान हुँदाहुँदै पनि यसबारे व्यवस्थित अध्ययन र नीतिगत ध्यान कम भएको उनको भनाइ छ। उनले नेपालमा हेरचाहको योगदान कृषि क्षेत्रसरह महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रायः महिलाले नै यसको असमान भार बोकिरहेको बताए। यस कारण महिलाको आर्थिक, राजनीतिक र सार्वजनिक जीवनमा सहभागिता कमजोर बन्न पुगेको उनले प्रष्ट पारिन्।

डा. राणाले नेपालले यस क्षेत्रमा परिवर्तनको आवश्यकता पहिचान गरिसकेको र १६औँ आवधिक योजनाले पहिलो पटक हेरचाहलाई विकास दृष्टिकोणको केन्द्रमा राखेको जानकारी दिइन्। उनले हेरचाह क्षेत्रमा हुने खर्चलाई उच्च प्रतिफल दिने लगानीका रूपमा हेर्नुपर्ने भन्दै स्वास्थ्य र शिक्षा हेरचाहमा रहेको अभाव पूरा गर्न सके लाखौँ रोजगारी सिर्जना हुने र त्यसको कम्तीमा ६० प्रतिशत महिलाले लाभ पाउने अध्ययनले देखाएको धारणा राखिन्।

यस क्षेत्रका चुनौतीमा सीमित पूर्वाधार, दक्ष जनशक्ति अभाव र जनचेतनाको कमी प्रमुख भएको उनको भनाइ छ। सम्मानजनक रोजगारी सिर्जना, सामाजिक सुरक्षा विस्तार र हेरचाहकर्मीलाई उचित पारिश्रमिक सुनिश्चित गरेर मात्र यी चुनौती समाधान गर्न सकिने उनको निष्कर्ष थियो।

सुदूरपश्चिमलगायत विभिन्न क्षेत्रमा दशकौँदेखि सुरक्षित मातृत्व र लैङ्गिक समानताको क्षेत्रमा आफ्ना प्रयासहरूको स्मरण गर्दै उनले यस्ता अभियानले मातृ तथा शिशु मृत्यु दर घटाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताइन्। हेरचाहसम्बन्धी कार्यले महिला तथा शिशु स्वास्थ्यमा सुधार ल्याउनुका साथै मुलुकका स्वास्थ्य सूचकलाई मजबुत बनाउन ठूलो भूमिका खेलेको उनले जोड दिइन्।

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com