काठमाडौँ । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि संघीय संसदको प्रत्यक्ष प्रसारण र आन्तरिक सञ्चार प्रभावित हुने भएको छ।
संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक युट्युबमार्फत प्रत्यक्ष प्रशारण गर्दै आएको छ। साथै, विगतका सबै बैठकका अभिलेखसमेत त्यही प्लेटफर्ममा सुरक्षित छन्। तर, युट्युब बन्द भएपछि वैकल्पिक उपायको खोजी गर्नुपर्ने अवस्था आएको छ।
सभामुख देवराज घिमिरेले यसबारे चासो व्यक्त गर्दै संसदको लाइभ प्रसारण र भिडियो अर्काइभ सुरक्षित गर्न निर्देशन दिएका छन्। उनका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सभामुखले सचिवालयलाई वैकल्पिक माध्यममार्फत प्रसारण व्यवस्थापन र सूचना प्रवाहको तयारी तत्काल अघि बढाउन आदेश दिएका छन्।
संसदका प्रवक्ता एकराम गिरीले युट्युब बन्द भएपछि प्रत्यक्ष प्रशारणमा समस्या पर्ने स्पष्ट पारे। ‘हामीसँग अन्य प्रविधि छैन,’ गिरीले भने, ‘अब नयाँ विकल्प खोज्नुपर्ने हुन्छ। त्यसका लागि छलफल सुरु गरेका छौँ।’
युट्युब बाहेक अन्य सामाजिक सञ्जाल बन्द हुँदा सांसदहरूको आन्तरिक सञ्चार पनि प्रभावित हुने देखिएको छ। गिरीका अनुसार समितिहरूले अहिलेसम्म ह्वाट्स एपमार्फत सम्पर्क गर्ने गरेका थिए तर अब नेपालमा दर्ता भएको भाइबरमा सार्नुपर्ने बाध्यता आएको छ।
संसद नियमावलीले बैठकको प्रत्यक्ष प्रसारण अनिवार्य गरेको छ। तर, प्रयोग हुँदै आएको डिजिटल माध्यम रोकिएपछि सचिवालय आकस्मिक तयारीमा लागेको छ।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया