काठमाडौं । सरकारले दर्ता नभएका युट्युबसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि संघीय संसदको प्रत्यक्ष प्रशारणसमेत प्रभावित हुने भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरू अहिलेसम्म युट्युबमार्फत प्रत्यक्ष देखाइँदै आएका थिए, साथै सबै बैठकका रेकर्डसमेत त्यहीँ सुरक्षित छन्।
सामाजिक सञ्जाल बन्द भएलगत्तै सभामुख देवराज घिमिरेले संसदको लाइभ प्रसारण र अडियो–भिडिओ अर्काइभबारे गम्भीर चासो व्यक्त गरेका छन्। उनका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सभामुखले संसद सचिवालयलाई वैकल्पिक प्रविधि र सूचना प्रवाहका अन्य माध्यमहरूको तत्काल व्यवस्था गर्न निर्देशन दिइसकेका छन्।
संघीय संसदका प्रवक्ता एकराम गिरीले युट्युब बन्द भएपछि प्रत्यक्ष प्रसारणमा ठूलो समस्या पर्ने बताए। ‘हामीले अहिले सम्म सबै बैठक युट्युबमै लाइभ गरेका थियौँ। अन्य प्रविधि छैन। त्यसैले विकल्पबारे छलफल थालिएको छ,’ गिरीले भने।
संसद नियमावलीले बैठक प्रत्यक्ष प्रशारण गर्नुपर्ने व्यवस्था गरेको छ। तर युट्युब प्रतिबन्धित भएपछि सचिवालय त्यसको विकल्प खोज्न बाध्य भएको छ।
गिरीका अनुसार सांसदहरूबीच विभिन्न समितिले गर्ने आधिकारिक संचार पनि प्रभावित भएको छ। अहिलेसम्म समितिहरूले ह्वाट्सएप प्रयोग गर्दै आएका थिए, तर अब नेपालमा दर्ता भएको भाइबरमा सो प्रणाली सार्नुपर्ने भएको छ।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया