काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनलाई सरकारको प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

नेपाल कला परिषद्द्वारा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव २०८२ अन्तर्गतको चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले लोकतान्त्रिक शासन प्रणालीमा सबै क्षेत्रलाई समान अवसर उपलब्ध हुने भन्दै त्यही अवसरलाई प्रयोग गरेर भाषा, कला र संस्कृतिको विकासमा सक्रिय भूमिका खेल्न आह्वान गरे।

advertisement

राष्ट्रपति पौडेलका अनुसार नेपालको प्राचीन धरोहर र सांस्कृतिक सम्पदाको अध्ययन, अवलोकन र अनुसन्धानका लागि हरेक वर्ष लाखौँ पर्यटक नेपाल भित्रिन्छन्। उनले सम्पदाको संरक्षणमा सरोकारवालाहरू सदैव सचेत रहनुपर्ने आवश्यकता औंल्याए।

उनले नेपाली कला, संस्कृति र सम्पदाले अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचान बनाउन सफल भएको उल्लेख गर्दै यसको प्रचार–प्रसारले पर्यटक आगमन वृद्धि भई मुलुकको समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। “हाम्रा कला, संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र गौरव हुन्,” राष्ट्रपति पौडेलले भने, “यी सदियौँ पुराना सम्पदाको संरक्षण सरकार मात्र होइन, निजी क्षेत्र र आम नागरिक सबैको साझा जिम्मेवारी हो।”

नेपाल कला परिषद्को पहलमा सरकारी, निजी तथा जनस्तरको सहकार्यमा आयोजना भएको महोत्सव उद्घाटन गर्न पाउँदा आफू हर्षित भएको उनले बताए। साथै, सबैको संयुक्त प्रयासबाट पर्यटन क्षेत्रको दिगो विकास सम्भव हुने विश्वास समेत व्यक्त गरे।

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com