ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजबाट ललितपुरमा सुरु भएको छ। “निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल–सुखी नेपाली हाम्रो गन्तव्य” भन्ने मूल नारासहित प्रारम्भ भएको महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सनराइज सभा हलमा गरेका हुन्।
महाधिवेशनको लागि ललितपुरको गोदावरी मूल सडकदेखि सभा हल प्रवेशद्वारसम्म स्वयंसेवकहरूले प्रतिनिधि र पर्यवेक्षकलाई सहज आवागमन व्यवस्था मिलाएका थिए। हलभित्र ठूलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि आसन तयार गरिएको छ भने मञ्चलाई राष्ट्रिय झण्डा र पार्टी झण्डाले सजाइएको छ।
मञ्चको दायाँपट्टि कार्ल मार्क्स, फ्रेडरिक एङ्गेल्स र भ्लादिमिर लेनिनका तस्बिर राखिएका छन् भने बाँयातर्फ पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर सजाइएको छ। दुवैतिर टुँडाल शैलीमा डिजिटल बोर्ड पनि स्थापना गरिएको छ।
महाधिवेशनमा अध्यक्ष ओलीले तयार पारेको राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ। पार्टीको प्रचार तथा प्रकाशन विभागका अनुसार दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित कुल दुई हजार ३४१ जना सहभागी भएका छन्।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया