ललितपुर । नेकपा (एमाले) को विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको छ। उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मन्तव्य टुंग्याउँदै गर्दा हल बाहिर भने फरक दृश्य देखियो-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षका कार्यकर्ताहरूले प्रतिनिधिहरूबीच पत्र बाँडिरहेका थिए। युवा संघ र अनेरास्ववियुका नेता–कार्यकर्ताले महाधिवेशनमा सहभागीहरूलाई भण्डारीले लेखेको पत्र हातहातमा थमाइरहेका थिए।
भण्डारीले करिब १३ सय शब्दमा तयार पारेको सो पत्रमा पार्टी नेतृत्वप्रति गम्भीर प्रश्न उठाइएको छ। विशेष गरी, २०८२ साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले आफ्नो सदस्यता रोक्ने निर्णय गरेको विषयलाई उनले गम्भीर आपत्ति जनाएकी छन्। पत्रमा उनले लेखेकी छन्, ‘मैले सदस्यता नवीकरण गरिसकेपछि पनि पार्टीका विभिन्न बैठकमा सहभागी भइसकेकी हुँ। तर अहिले आएर मेरो आस्था र विश्वासमाथि प्रश्न उठाइएको छ, जुन पार्टी र राष्ट्र दुवैका लागि गम्भीर कुरा हो।’
भण्डारीले जीवनको लामो समय देश, जनता र पार्टीलाई समर्पण गरेको उल्लेख गर्दै महिला अधिकार, मानव अधिकार र समानताका लागि आफू निरन्तर सक्रिय रहेको स्मरण गराएकी छन्। कठिन संघर्ष र चुनौतीबीच कहिल्यै पछि नहटेकी उनले अहिले सदस्यता सम्बन्धी विवादलाई व्यक्तिगत नभई पार्टीको भविष्यसँग गाँसिएको विषयका रूपमा चित्रण गरेकी छन्।
उनले पत्रमा स्पष्ट पारेकी छन्, ‘यो आत्मरक्षाका लागि लेखिएको पत्र होइन। बरु, पार्टीलाई सबल, सुदृढ र दीगो एकता तर्फ अघि बढाउने हाम्रो सामूहिक यात्राको हिस्सा हो भन्ने विश्वास लिएको छु।’
स्मरणीय छ, २०३७ सालमा पार्टी सदस्यता लिएकी भण्डारीलाई पार्टीले विशेष निर्णयमार्फत देशको राष्ट्रपति पदमा पठाएको थियो। दुई कार्यकालपछि पार्टीमा पुनः सक्रिय भएर योगदान गर्न चाहेका बेला सदस्यता रोकिनु दुःखद भएको उनको भनाइ छ। ‘यो प्रश्न मेरो मात्र होइन, कुनै पनि पार्टी सदस्यले भोग्नु नपर्ने अवस्था हो,’ उनले लेखेकी छन्।
भण्डारीले पत्रमा हालैका घटनाक्रम पनि स्मरण गराएकी छन्। २०८२ असार १४ गते मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा अध्यक्ष ओली प्रमुख अतिथि रहेको कार्यक्रममा आफूले विधिवत रूपमा सदस्यता नवीकरण भइसकेको घोषणा गरेको र बाँकी जीवन पार्टीमार्फत देश–जनताको सेवामा अर्पण गर्ने अठोट सार्वजनिक गरेको उनले उल्लेख गरेकी छन्। त्यहीअघि अध्यक्ष ओलीसँग भेट्दा उक्त घोषणा गर्नेबारे कुरा भएको र त्यस कार्यक्रममा पार्टीलाई अझ सबल बनाउन, जबजलाई अजेय सिद्धान्तका रूपमा स्थापित गर्न र सामाजिक–आर्थिक रूपान्तरणलाई तीव्र पार्नुपर्ने दृष्टिकोण राखेको उनको दाबी छ।
यसरी, अध्यक्ष ओलीले उद्घाटन मन्तव्यमार्फत अप्रत्यक्ष रूपमा भण्डारीको विषयमा छलफल नहुने संकेत दिइरहँदा, हल बाहिर भने भण्डारी पक्षको पत्र वितरणले विधान महाधिवेशनको माहोललाई थप चर्काएको देखिएको छ।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया