जुम्ला । कर्णालीको प्रमुख नगदबाली मानिने स्याउ अहिले जुम्लामा पाकेपछि किसानहरूलाई टिप्न भ्याइनभ्याइ भएको छ। सात गाउँपालिका र एक नगरपालिका क्षेत्रका बगैँचामा उत्पादन भएको स्याउ टिपेर किसानहरूले प्रत्यक्ष बिक्री सुरु गरेका छन्।
तातोपानी गाउँपालिका–४ का किसान प्रेमराज पाण्डेका अनुसार घरमै व्यापारी पुगेर प्रतिकिलो रु ६५ मा स्याउ खरिद गर्न थालेका छन्। उनले लगाएका १०० भन्दा बढी बिरुवामध्ये आधाले मात्र फल दिएको बताउँदै यस वर्ष उत्पादन गत वर्षभन्दा ४० प्रतिशतले घटेको जानकारी दिए।
हिमा गाउँपालिकाका व्यापारी प्रकाश रोकायाले हालसम्म करिब ६०० कार्टुन स्याउ किसानसँगै खरिद गरिएको बताए। कृषि विकास कार्यालय, जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारीले उत्पादन तथा निर्यातको तथ्याङ्क सङ्कलनका लागि नाग्म प्रहरी चौकीलाई जिम्मा दिइएको जानकारी दिए। कार्यालयका अनुसार यसवर्ष १६ हजार मेट्रिकटन स्याउ उत्पादन हुने र करिब रु ४५ करोड आम्दानी हुने अनुमान छ।
हाल जुम्लामा चार हजार १२० हेक्टरमा स्याउखेती भइरहेको छ भने दुई हजार ९०० हेक्टरमा व्यावसायिक उत्पादन भइरहेको छ। स्थानीय जातका साथै गोल्डेन, गाला, फुजी र जोनाप्रिन्स जातका स्याउ खेती हुँदै आएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका अनुसार करिब १८ हजार घरधुरी स्याउखेतीमा निर्भर छन्।
कृषि विकास कार्यालयले ‘जुम्ला एप्पल’ लेखिएको १२ हजार कार्टुन सहकारी तथा समूहलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको छ।
तरकारीखेतीतर्फ महिलाको उद्यमशीलता
स्याउसँगै जुम्लामा महिलाहरू तरकारीखेतीतर्फ आकर्षित भएका छन्। तिला गाउँपालिका–८ जुम्लाकोटकी शोभा बस्नेतका अनुसार विगतमा चासो नदेखाउने महिलाले अहिले सीपमूलक तालिम र प्रविधिक सहयोग पाएपछि व्यावसायिक रूपमा तरकारीखेती गर्न थालेका छन्।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले सञ्चालन गरेको पोषण तथा जीविकोपार्जन परियोजनाले गाउँका महिलालाई आत्मनिर्भर बनाउन सहयोग गरेको छ।
बस्नेतका अनुसार कृषक समूहमार्फत मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर गत वर्ष एक लाख रुपैयाँ आम्दानी लिन सफल भए। हाल उत्पादन भएको गोलभेँडा गाउँमै प्रतिकिलो रु ४० मा बिक्री हुने गरेको छ।
स्थानीय लक्ष्मी रावतका अनुसार परियोजनाबाट प्राप्त हाते ट्र्याक्टरले खेती गर्न सहज भएको छ। यस्तै किर्डाकका अनुगमन अधिकृत ललित डाँगीले जलवायु मैत्री प्रविधि जस्तै गड्यौल मल, प्लास्टिक हाउस, झोल मल, बायोचार आदि प्रयोगबारे समूहलाई तालिम दिइएको जानकारी दिए।
तरकारी उत्पादन बढ्दो भए पनि यातायात सुविधा अभावले बजारसम्म ढुवानीमा समस्या भइरहेको स्थानीयवासीले गुनासो गरेका छन्।
- रासस
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया