कैलाली । कैलालीसँग सिमाना जोडिएको कञ्चनपुरको पुर्नर्वास नगरपालिका–८ र वडा नं ९ मा अवस्थित प्यारा ताल प्राकृतिक सौन्दर्य र जैविक विविधताका दृष्टिले महत्वपूर्ण छ।
ताल करिब ६ किलोमिटर लम्बाइ, ७० मिटर चौडाइ र १५ फिट गहिराइको रहेको छ। यसमा विश्वमा दुर्लभ जलचर प्राणी ओद, दक्षिण एसियामै दुर्लभ मानिने पहेंलोधुरे कछुवा, गोही, जलकपुर र ३५ प्रजातिका माछा पाइन्छन्। अनुसन्धान हुन नसकेका अन्य संरक्षणीय जलचर र उभयचर प्राणीको बासस्थान पनि यही तालमा रहेको छ।
प्यारा ताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दिपेन्द्र बस्नेतका अनुसार, स्थानीय र राज्यस्तरको पहुँच कम भएको कारण ताल संरक्षणमा कमी देखिएको छ। “स्थानीय अज्ञानताका कारण अतिक्रमण बढेको छ। मानव गतिविधि र पर्यटन प्रवर्धनका माध्यमबाट मात्र तालको संरक्षणमा राज्यको ध्यान केन्द्रित गर्न सकिन्छ,” अध्यक्ष बस्नेतले जानकारी दिनुभयो।
ताल संरक्षण अभियान २०८० असार २० गतेबाट सुरु भएको थियो। सुरुआती चरणमा नागरिकस्तरबाट आर्थिक सहयोग जुटाएर ताल परिसरमा ओद, पहेंलोधुरे कछुवा, जलकपुर माछा, जरायो र गोहीका प्रतिमा निर्माण गरिएको छ। मयँुर, पाठेबाघ र सिमकुखुराका प्रतिमाको निर्माण कार्य पनि जारी छ।
गत आव २०८१/८२ मा संघीय सरकारले ताल संरक्षणका लागि रु ९० लाख विनियोजन गरेको थियो। पुर्नर्वास नगरपालिकामार्फत बोलपत्र आह्वान गर्दा रु ७३ लाखमा ११० मिटर लम्बाइको तटबन्ध निर्माण सुरु भएको छ भने हालसम्म ८५ मिटर तटबन्ध निर्माण भइसकेको छ। थप २५ मिटर निर्माण बाँकी छ। ताल परिसरमा माटो फिलिङ र सभाहल निर्माणको काम पनि भइरहेको छ।
नगरपालिकाले ताललाई पर्यटन केन्द्रका रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ। जैविक दृष्टिले महत्वपूर्ण प्यारा तालको संरक्षण, प्रवर्द्धन र आन्तरिक पर्यटकको आकर्षण बढाउन सकिएमा सुदूरपश्चिमको पर्यटकीय गन्तव्यका रूपमा विकास सम्भव रहेको स्थानीय जानकारहरूले बताएका छन्।
छिमेकी भारतसँग जोडिएको भूभागमा अवस्थित भएकाले राज्यस्तरबाट समयमै संरक्षण तथा संवर्द्धनमा ध्यान नदिँदा तालको अवस्था प्रभावित हुन सक्ने चेतावनी पनि स्थानीय स्रोतले दिएका छन्।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया