काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र केही अनुशासनहीनता, बेलगाम प्रवृत्ति र अराजक गतिविधि देखिएको स्वीकार गरेका छन्।
शुक्रबार ललितपुरमा सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा ओलीले यस्ता कमजोरीहरू सुधार गर्दै पार्टीलाई अझ मजबुत बनाउन आवश्यक रहेको बताए। तर, उनले यी समस्या पार्टीका कार्यकर्ताहरूको ठूलो योगदान र समर्पणसँग तुलना गर्दा सानै रहेको पनि स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले पार्टीलाई विभाजनबाट बचाउन र सुदृढ बनाउन कार्यकर्ताहरूको भूमिकाको प्रशंसा गर्दै विशेष गरी महिला कार्यकर्ताहरूको योगदान उल्लेखनीय रहेको बताए। उनका अनुसार, महिला दिदीबहिनीहरूको निष्ठा, अटल अडान र समर्पणकै कारण पार्टी अझ सबल भएको छ।
ओलीले आन्तरिक एकता, वैचारिक स्पष्टता र अनुशासनलाई पार्टीको मूल आधार ठहराउँदै सबै कार्यकर्तालाई नेतृत्वप्रति विश्वास राखेर अघि बढ्न आह्वान गरे।
साथै उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितप्रति पार्टीको अटल अडान पुनः पुष्टि गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य भूभाग भएको स्मरण गराए। उनले भने, “कुनै दबाब, धम्की वा प्रलोभनले हामीलाई राष्ट्रिय हितभन्दा बाहिर लाग्न सक्दैन।”
प्रधानमन्त्री ओलीले विकास र समृद्धिको यात्रामा शान्ति, स्थिरता र लोकतन्त्रको भूमिकालाई महत्त्वपूर्ण ठहराउँदै सबै नागरिकलाई राष्ट्र निर्माणको साझा अभियानमा सहभागी हुन आग्रह गरे।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया