काठमाडौं। सरकारले बन्द गरेका २६ वटा सामाजिक सञ्जालमध्ये आठवटा सञ्चालकसँग सरकारले सम्पर्क गर्न सफल भएको छ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई पत्र पठाइ सामाजिक सञ्जाल बन्द गर्ने प्रक्रिया अघि बढाएको थियो। सो क्रममा आठवटा सामाजिक सञ्जालका सञ्चालकहरू सरकारले तय गरेको सूचीकरण प्रक्रियाका लागि सम्पर्कमा आएका छन्।
नेपाल केन्द्रित “हाम्रो पात्रो”ले बिहीबार दर्ता प्रक्रिया सुरु गरी निष्क्रिय हुनबाट जोगिएको छ। त्यसैगरी, मेटा कम्पनी (फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्स) अनौपचारिक रूपमा सरकारसँग सम्पर्कमा आएको मन्त्रालयले जनाएको छ। प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार ट्वीटर (एक्स) ले पनि शुक्रबार आधिकारिक रूपमा सूचीकरणका लागि सम्पर्क गरेको छ। त्यस्तै, चिनियाँ सामाजिक सञ्जाल वी च्याटले पनि दर्ता प्रक्रिया र आवश्यक कागजातबारे जानकारी मागेको छ।
तर, युट्युब, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टोडन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो र सोल अझै सरकारसँग सम्पर्कमा आएका छैनन्। युट्युब र लिंक्डइन अत्यधिक प्रयोगमा रहेका छन् भने स्न्यापच्याट, क्लबहाउस र इमो सामान्य प्रयोगका छन्, बाँकी सामाजिक सञ्जालहरू धेरै प्रयोगमा छैनन्।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया