काठमाडौँ । आगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बनाउन नेपाली कांग्रेसले तल्लो तहबाट सिफारिस नमाग्ने भएको छ ।
अहिलेसम्म अवलम्बन गर्दै आएको पार्टीको तल्लो तहबाट खुला सिफारिस माग्ने र त्यसलाई आधार मानेर माथिल्लो समितिले उम्मेदवार तोक्ने शैलीलाई यो पटक कांग्रेसले परिवर्तन गर्न लागेको हो ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तलबाट सिफारिस नमागी फरक शैलीमा उम्मेदवार छान्ने तयारी गरेका हुन् ।
कांग्रेसले ‘कन्टिन्यूटी, कम्पिटेन्सी र पोसिबिलिटी’ अर्थात निरन्तरता, योग्यता र सम्भाव्यताका आधारमा उम्मेदवार चयन गर्ने तयारी गरेको केन्द्रीय कार्यालय स्रोतले जानकारी दिएको छ । गणितीय र मनोवैज्ञानिक समीक्षा गरेर तीन दृष्टिमा उपयुक्त को हुनसक्छ भन्ने निचोड निकालेर उम्मेदवार तय गरिने कांग्रेस नेताहरू बताउँछन् ।
उम्मेदवार चयन गर्दा कुनै आर्थिक अपचलनमा संलग्न रहेको/नरहेको, जातीय विभेदको कुनै कर्ममा विगतमा संलग्न रहेको/नरहेको, पारिवारिक सम्बन्धमा परम्परागत मर्यादा कायम रहेको/नरहेको, बालश्रम, घरेलु हिंसा आदिमा संलग्न रहेको/नरहेको विषय पनि हेर्ने तयारी कांग्रेसको छ ।
त्यस्तै सामाजिक विसङ्गतिको दुष्कर्ममा विगतमा संलग्न रहे नरहेकोबारे पनि उम्मेदवार चयनमा खोजी गरिने कांग्रेसले जनाएको छ ।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया