काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रको समग्र विकासका लागि पार्टी र अखिल नेपाल खेलकुद महासंघको सक्रिय हस्तक्षेप अपरिहार्य रहेको बताएका छन्।
अखिल नेपाल खेलकुद महासंघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले भने, “अखिल नेपाल खेलकुद महासंघको हस्तक्षेप बिना, हाम्रो एकता र गति बिना खेल क्षेत्रमा क्रान्तिकारी रूपान्तरण सम्भव छैन।”
प्रचण्डले विगतमा माओवादी नेतृत्वमा खेलकुद मन्त्रालय र परिषद् हुँदा खेल क्षेत्रमा गुणात्मक सुधार भएको उदाहरण प्रस्तुत गर्दै वर्तमान सरकारले खेलकुद विकासमा उदासीनता देखाएको आरोप लगाए। उनले भने, “हालको सरकारले पूर्वनिर्धारित राष्ट्रिय खेलकुद कार्यक्रमहरूलाई राजनीतिक पूर्वाग्रहको आधारमा अवरुद्ध गर्दै आएको छ।”
उनले खेलकुद क्षेत्रमा लगानी, पेशागत वातावरण र जीवन सुनिश्चित गरिए राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको उल्लेखनीय योगदान हुने उल्लेख गरे। प्रचण्डले भने, “राज्यले ध्यान दिने हो भने नेपाली युवाले विश्व रेकर्ड बनाउन सक्छन्।”
अध्यक्ष प्रचण्डले क्रिकेट रंगशालाहरू निर्माण र तिनलाई राष्ट्रिय गौरवका आयोजना बनाउने निर्णय माओवादी नेतृत्वको सरकारले गरेको स्मरण गराए। उनले थपे, “जतिजति बेला माओवादी केन्द्रको नेतृत्वमा खेलकुद मन्त्रालय र परिषद् हुन्छ, त्यतिबेला खेल क्षेत्रमा गुणात्मक प्रगति देखिन्छ। यसैले महासंघ र पार्टीले मिहिनेत र सक्रिय हस्तक्षेप गर्नुपर्छ।”
साथै, उनले अखिल नेपाल खेलकुद महासंघलाई जनताको खेल र रूपान्तरणको अभियानका रूपमा अगाडि बढाएकोमा प्रशंसा गर्दै खेल क्षेत्रमा सबै पक्षले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया