कञ्चनपुर । मानव बेचबिखन तथा ओसारपसारका दृिष्टकोणले कञ्चनपुर जिल्ला उच्च जोखिम क्षेत्रका रूपमा रहेको छ ।
जिल्ला भएर भारत आवतजावत गर्ने मुख्य नाका गड्डाचौकी भए पनि अन्य क्षेत्रमा खुला सीमाका कारण अवैध नाकाहरू विद्यमान रहेका छन् । अवैध नाकाहरू मानव बेचबिखनको प्रमुख चुनौतीका रूपमा देखा परेको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताए ।
उनका अनुसार पछिल्लो समयमा जिल्लामा सीमानाका प्रयोग गरी बालबालिका, किशोरी, तथा महिलालाई भारत, खाडीमुलुक र अन्य देशतर्फ बेचबिखन हुने घटनाहरू बढ्दै गएका छन् । मानव बेचबिखनका घटनाहरू बढ्दै जानुमा गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक असमानता, घरेलु हिंसा र सामाजिक कुरीतिहरू मूल कारण देखिएको संयोजक भट्ट बताउँछन् ।
खुला सीमा, प्रविधिमैत्री निगरानीको अभाव, स्रोतसाधन र जनशक्तिको कमी, उजुरी दिन डराउने पीडित तथा परिवार, मुद्दा प्रक्रियामा ढिलाइ र सीमापार गराउन आफन्त वा परिवारकै संलग्नता रहने गरेको पाइएको छ ।
“मानव बेचबिखन नियन्त्रण सबैको साझा जिम्मेवारी हो”, संयोजक भट्टले भने, “यसलाई रोक्न सचेतना, समन्वय र सहकार्यनै मुख्य आधार हो ।” मानव बेचबिखनको स्वरूप समयसँगै बदलिँदै गएको उल्लेख गर्दे उनले वैदेशिक रोजगारी, विवाहको प्रलोभन, पर्यटनका नाममा, तथा प्रविधि प्रयोग गरेर हुने ‘साइबर ट्राफिकिङ’का घटना बढिरहेको बताए ।
माइती नेपालका कञ्चनपुर संयोजक भट्टका अनुसार गत १६ जुलाई २०२४ देखि १५ जुलाई २०२५ सम्मको अवधिमा भारततर्फ जान लागेका २८६ जनालाई रोकथाम गरेको छ । जसमध्ये १२७ जना गड्डाचौकी नाकामा, ४८ जना चारलेन पुलमा र ३८ जना झोलुङ्गे पुलमा रोकथाम गरिएको थियो । रोकथाम गरिएका व्यक्तिहरूमध्ये एक सय २९ जना बालबालिका र १५७ जना महिला रहेका छन् ।
सीमानाकामा रोकथाम गरिएकामध्ये सुदूरपश्चिम प्रदेशका २४८ जना रहेका छन् भने कञ्चनपुर जिल्लाका मात्रै १३६ जना रहेका छन् । त्यसै अवधिमा भारतको हरियाणा, मुम्बई, पिथौरागढ, पुना, विहार र चमौलीबाट बेचबिखनमा परेका आठ जनाको उद्धार गरी ल्याइएको उनले बताए ।
सोही अवधिमा माइती नेपालले सीमानाकामा १२ हजार ८३२ सवारीसाधन चेकजाँच गरेको छभने ४६ हजार ५६ जनालाई मानव बेचबिखन तथा सुरक्षित बसाइसराइबारे परामर्श दिएको छ । दुई सय ९० जनाको पारिवारिक पुनर्मिलन गरिएको छ । पैँतीस जनालाई सीमानाकाबाटै प्रत्यक्ष परामर्श दिएर घर फर्काइएको छ ।
माइती नेपालमा खोजतलासका लागि १८० वटा निवेदन दर्ता भएको र जसमध्ये ७३ जना खोजतलास गर्दा भेटिएका छन् । घरेलु हिंसासम्बन्धी २२ वटा उजुरी दर्ता भएकामध्ये १८ वटा समाधान गरिएको छ भने मानव बेचबिखनविरुद्ध एक मुद्दा दर्ता भएको संयोजक भट्टको भनाइ रहेको छ ।
मानव बेचबिखन रोकथामका लागि माइती नेपालले समुदायस्तरमा घरदैलो कार्यक्रम, पर्चा–पम्पलेट वितरण, किशोरीलाई कानुनी अनुशिक्षण, सडक नाटक लगायतका अभियान सञ्चालन गर्दै आएको छ । यसरी गाउँ–गाउँमै सचेतनासम्बन्धीका कार्यक्रम गरिए मानव बेचबिखनजस्तो जघन्य अपराध न्यूनीकरण गर्न सकिने शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना पन्तले बताइन् ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले सीमा क्षेत्रमा मानव बेचबिखन रोकथाम चुनौतीपूर्ण भए पनि समुदायको सक्रियता र सरकारी–गैरसरकारी निकायको सहकार्यलाई बढाउन सकिए समस्या कम गर्न सकिने जनाए ।
प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार













प्रतिक्रिया