काठमाडाैं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधन प्रस्ताव र प्रतिवेदनमाथि फरक धारणा वा असहमति राख्न चाहिने विषय समूहगत छलफलमै प्रस्तुत गर्न अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन्।

शुक्रबारको बन्दसत्रमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बोल्ने तयारी गरे पनि अध्यक्ष ओलीले समय व्यवस्थापनका कारण समूहमै विचार राख्न अनुरोध गरेका थिए। ओलीले थापाले प्रस्तुत गरेको मूल प्रतिवेदनसँग ठूला फरक मत नभएको स्पष्ट पार्दै विधान संशोधनसम्बन्धी बहस सबै समूहमा गहन रूपमा गर्न सकिने बताए। साथै, हलमा अन्य प्रतिनिधिलाई पनि बोल्ने माग बढ्ने भएकाले समूहगत छलफललाई नै प्रभावकारी माध्यम बनाउनुपर्नेमा जोड दिए।

advertisement

अध्यक्ष ओलीको आग्रहलाई हलमा उपस्थित प्रतिनिधिहरुले ताली बजाएर समर्थन जनाए। सहमतिको आधारमा नेता थापाले आफ्ना मतहरू पर्चामार्फत प्रतिनिधिहरूलाई वितरण गरेका छन्।

शुक्रबारदेखि सुरु भएको महाधिवेशनको पहिलो दिन अध्यक्ष तथा प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहराले आफ्नो दस्तावेज प्रस्तुत गरेका थिए।

महाधिवेशनको दोस्रो दिन आज केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बा, लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेल र अनुशासन आयोग अध्यक्ष केशव बडालले प्रतिवेदन पेश गरे। यी सबै प्रतिवेदनमाथि छलफल गर्न पार्टीले १० समूह गठन गरेको छ, जसले दिनभर बहस गर्नेछ।

समूहगत छलफलपछि हलमा हुने प्रस्तुतिका क्रममा बहसका निष्कर्ष व्यवस्थापनका लागि सचिव लेखराज भट्टको संयोजकत्वमा विशेष समिति बनाइएको छ। महाधिवेशन आइतबार सम्पन्न हुने कार्यक्रम छ।

प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com