काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र संघीय संसद् सचिवालयलाई आधुनिक बनाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगबारे अध्ययन भइरहेको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद् तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, अटोमेसनमार्फत समयमै कार्यसम्पादन गर्ने र विधेयकसँग सम्बन्धित तथ्याङ्क छिटो खोजी तथा विश्लेषण गर्न एआई महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। यसले सांसदलाई नीति निर्माणका क्रममा आवश्यक तथ्याङ्क र सुझाव समयमै उपलब्ध गराउन सहयोग गर्ने उनको भनाइ छ।
सभामुख घिमिरेले एआईले स्वास्थ्य क्षेत्रदेखि दैनिक जीवनसम्म सकारात्मक प्रभाव पारेको उल्लेख गरे। उनका अनुसार, भिडियोमार्फत नियमित स्वास्थ्य परीक्षणमा सुझाव लिन सकिने, रोगको प्रारम्भिक चरणमै पहिचान गर्न सकिने, टेलिमेडिसिनमार्फत दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन सकिने र आपतकालीन अवस्थामा प्रारम्भिक चेतावनी प्रणाली प्रयोग गरी जोखिम घटाउन सकिने सम्भावना छ।
नेपालको सन्दर्भमा पनि एआईले संसदीय सूचना प्रणालीलाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे। ‘विभिन्न क्षेत्रका निर्णय प्रक्रियामा एआईको विश्लेषणात्मक क्षमता प्रयोग गर्न सकियो भने समय र स्रोत दुवैको बचत हुन्छ,’ उनले भने।
यद्यपि, एआईका नकारात्मक पक्षबारे सचेत रहनुपर्ने आवश्यकता पनि सभामुख घिमिरेले औंल्याए। ‘डीपफेक प्रविधिमार्फत गलत सूचना फैलन सक्ने, साइबर ठगी बढ्न सक्ने र संवेदनशील व्यक्तिगत डेटा चोरी हुने जोखिम उच्च छ,’ उनले चेतावनी दिए। साथै, मानव श्रम विस्थापित भई बेरोजगारी बढ्ने खतरा पनि उत्तिकै रहेको उनको तर्क थियो।
‘त्यसैले एआई प्रयोग गर्दा सुरक्षात्मक र नैतिक मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्छ,’ सभामुख घिमिरेले जोड दिए, ‘गलत सूचना, ह्याकिङ र डाटा सुरक्षासम्बन्धी चुनौतीलाई ध्यानमा राख्दै मात्रै यसको प्रयोग गर्नुपर्छ।’
प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार













प्रतिक्रिया