ललितपुर । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरिसिद्धीमा मन्त्री सवार गाडीले बालिकालाई ठक्कर दिएको घटनालाई राजनीतिक रंग दिन खोजिएको आरोप लगाएका छन्।

शनिबार गोदावरीस्थित सनराइज हलमा जारी एमाले विधान महाधिवेशनको दोस्रो दिनको कार्यक्रममा सम्बोधन गर्दै उनले बालिकालाई गाडीले सामान्य रूपमा छोएको मात्र दाबी गरे। ‘साधारण दुर्घटना थियो, नियत थिएन। पार्टीले बालिकाको सम्पूर्ण उपचार खर्च व्यहोर्छ,’ ओलीले भने। उनले घटनाप्रति दुःख व्यक्त गर्दै कार्यक्रम सुरुमा एक घण्टा ढिलाइ भएको कारण पनि यही रहेको बताए।

advertisement

प्रधानमन्त्री ओलीले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्ता अप्रत्याशित घटना कहिलेकाहीँ हुने उल्लेख गरे। ‘गम्भीर क्षति भएको छैन, तर यो घटना हुँदा हामी पनि दुःखी भएका छौँ,’उनले भने।

शनिबार बिहान करिब ७:१५ बजे ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको सडकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको सरकारी गाडी (को १ झ ६९९) ले ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो। बालिकाको उपचार बिएन्डबी अस्पतालमा भइरहेको छ।

तर घटनासम्बन्धी सार्वजनिक भएको सिसिटिभी फुटेजमा फरक दृश्य देखिन्छ।  भिडिओमा बालिका जेब्रा क्रसिङ नजिक बाटो काट्दै गर्दा मन्त्री सवार गाडीले ठक्कर दिएको स्पष्ट देखिन्छ। ठक्करपछि बालिका सडकमा लडेकी थिइन् तर गाडी रोकिएन र सीधै अगाडि बढेको देखिन्छ।

फुटेजमा गाडीको पछिपछि आएको मोटरसाइकलमा सवार एक महिलाले तत्काल बालिकालाई उठाएर सहयोग गरेको दृश्य पनि कैद भएको छ।

यसरी, प्रधानमन्त्री ओलीले सामान्य घटना भन्दै राजनीतिकरण गरिएको टिप्पणी गरे पनि सार्वजनिक भएको भिडियोले गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com