ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा समूहगत छलफल जारी छ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा शनिबारदेखि सुरु भएको महाधिवेशनको दोस्रो दिन आइतबार प्रतिनिधिहरूले हिजो प्रस्तुत गरिएका विभिन्न प्रतिवेदन र प्रस्तावमाथि छलफल गरिरहेका छन्।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरेर राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र संगठनसम्बन्धी प्रस्तावमाथि विस्तृत छलफल भइरहेको छ। उनले आज दिनभर समूहगत छलफल चल्ने र समूहहरूले आफ्नो निष्कर्षसहितको प्रतिवेदन तयार गर्ने जानकारी दिए।
गौतमका अनुसार आइतबार बिहान ८ बजेदेखि विधान महाधिवेशनको बन्दसत्र सुरु हुनेछ। बन्दसत्रमा प्रदेश तथा भूगोलका आधारमा गठन गरिएका समूह नेताहरूले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन्। ती प्रस्तुतिहरूको जवाफ पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिनेछन्। कुनै विषयमा विवाद भए निर्णयार्थ प्रस्तुत गरी निष्कर्षमा पुग्ने प्रक्रिया अपनाइने उनले स्पष्ट पारे।
महाधिवेशनको पहिलो दिन ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए।
शनिबार नै केन्द्रीय अनुशासन आयोग अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बाले पनि आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेका छन्। त्यसपछि प्रतिनिधिहरू समूहगत छलफलमा संलग्न भएका हुन्
प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार













प्रतिक्रिया