काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पत्नीसहित शनिबार राजधानीमा सुरु भएको इन्द्रजात्राको रथयात्रा अवलोकन गर्न उपस्थित भए। उनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वागत गरे।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गर्दै मनाइने इन्द्रजात्रा भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा इन्द्रध्वजोत्थानसँगै सुरु हुन्छ। धार्मिक विधिअनुसार लिङ्गो ठड्याएपछि आठ दिनसम्म चल्ने यस पर्वमा भैरवनाच, लाखेनाच, दशअवतार, महाकालीनाच र पुलुकिसी नाचजस्ता परम्परागत सांस्कृतिक प्रस्तुति हुन्छन्।
आजको मुख्य कार्यक्रमका रूपमा राष्ट्रपतिबाट गद्दी बैठक अगाडि श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ। अघिल्ला वर्षहरूमा राजतन्त्रकालमा राजाले नै यो विधि पालना गर्ने गर्थे।
इन्द्रजात्रा काठमाडौं मात्र नभई ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायतका क्षेत्रमा पनि धुमधामका साथ मनाइन्छ। जात्राको समापन आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’सँगै हुन्छ, जुन भरणी नक्षत्रको रातमा सम्पन्न गरिन्छ।
यस पर्वलाई विजय र शक्ति प्रदर्शनसँग पनि जोडिएको मानिन्छ। शास्त्रीय परम्परा अनुसार भाद्र शुक्ल चतुर्दशीमा अनन्तनाथ (विष्णु)को पूजा गर्ने चलन छ, जसलाई अनन्त चतुर्दशी भनिन्छ। यस दिन अनन्त मन्त्रसहितको धागो बाँध्दा वर्षभर शुभ हुने विश्वास गरिन्छ।
धार्मिक विश्वासअनुसार इन्द्रजात्रा सम्पन्न भएपछि पूर्णिमाको दिन भक्तजनले इन्द्रदहमा स्नान गर्ने प्रचलन रहेको छ।
प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार













प्रतिक्रिया