काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमाले गठबन्धन सरकारलाई ‘बिचौलिया र दलालको दबाबमा बनेको’ भन्दै तीव्र आलोचना गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले शनिबार पोखराको लेकसाइडमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गठबन्धन सरकार इमानदार नेतृत्वको निर्णयबाट होइन, बिचौलियाको धाक र धम्कीका आधारमा बनेको दाबी गरे।
‘कांग्रेस-एमालेको सरकार उनीहरूको बुद्धिले होइन, दलाल र बिचौलियाको डरले बनेको हो,’ प्रचण्डले भने, ‘आज पनि त्यही डरले सरकार टिकेको छ। कांग्रेस-एमालेभित्रका इमानदार साथीहरूले यस्ता प्रवृत्तिबाट टाढा रहनुपर्छ।’
उनका अनुसार हालको सत्ता ‘क्रोनी क्यापिटलिजम’ र दलाल पुँजीवादको प्रतिनिधित्व गरिरहेको छ, जसको विकल्प माओवादी केन्द्र बनेर उभिएको छ। उनले माओवादी आन्दोलन मध्यम वर्ग र तल्लो वर्गको पक्षमा रहेको दाबी गर्दै ऋण मिनाह, सहकारी सुधार र आर्थिक उत्थानलाई प्राथमिकता दिने बताए।
सहकारी बचत अपचलनको मुद्दा उठाउँदै प्रचण्डले कांग्रेस-एमालेका नेताहरू नै समस्याको मूल कारण भएको आरोप लगाए। ‘शक्तिशाली प्राधिकरणमार्फत ठगलाई कारबाही गर्न खोज्दा यही सरकार ढालियो, त्यसैले काम अधुरै रह्यो,’ उनले भने।
प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार













प्रतिक्रिया