काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमाले मिलेर बनेको अहिलेको सरकारलाई दलाल विचौलियाले खडा गराइदिएको गम्भीर आरोप लगाएका छन्।

मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत शनिबार साँझ लमजुङको भोर्लेटारमा आयोजित जनसभामा बोल्दै प्रचण्डले भने, ‘यो सरकार कांग्रेस र एमालेले बनाएको होइन, विचौलियाले नेताहरूलाई खरिद गरेर र धम्क्याएर बनाइदिएको सरकार हो।’

advertisement

उनले विचौलियाहरूले अँध्यारो रातमा आफ्ना ठूला होटल र घरमा नेताहरूलाई लगेरे सरकार गठन गराएको दाबी गरे। कांग्रेस–एमाले नमिले देश माओवादीले लैजाने र विचौलियाहरूको भविष्य नै संकटमा पर्ने देखेपछि जबर्जस्ती मिलाइएको उनको आरोप थियो।

‘पार्टीका नेताहरूलाई विचौलियाले औंलामा नचाउँदा रहेछन्। ‘तिमीहरू नमिल्ने भए देश माओवादीले लैजान्छ, हाम्रो भविष्य खत्तम हुन्छ’ भन्दै धम्की र पैसा देखाएर यो असंवैधानिक, अलोकतान्त्रिक सरकार खडा गरियो,’ प्रचण्डको भनाइ थियो।

तर उनले को–को विचौलिया संलग्न थिए भन्ने खुलाएनन्। भने, ‘कमिशन खाएर अर्बौं कमाउने, उद्योग खोल्दैनन्, रोजगारी सिर्जना गर्दैनन्, तर रातारात शक्तिशाली बनेका विचौलियाहरू अहिले देशलाई नियन्त्रणमा लिन खोजिरहेका छन्।’

भ्रष्टाचारविरुद्ध आफ्नो अभियान जारी रहने उल्लेख गर्दै प्रचण्डले जनतालाई गरिब बनाउने तिनै विचौलियालाई लखेट्ने प्रतिबद्धता जनाए। उनले थपे, ‘संविधान मिचेर हामीलाई हटाइयो, तर हामी फेरि जनताको घरदैलोमा पुग्छौं। सबै पीडा सुनाउँछौं र भ्रष्टाचारीलाई धपाउने अभियान अघि बढाउँछौं।’

यसक्रममा उनले विभाजित माओवादीहरूलाई एकजुट बनाउने प्रयास भइरहेको र केही सकारात्मक संकेतहरू देखिएको बताए। “केही साथीहरू फर्किसकेका छन्, अरू पनि आउनेछन्,” उनको भनाइ थियो।

प्रचण्डले देशमा ‘पपुलिज्म’ हावी भइरहेको आरोप पनि लगाए। इतिहास र विचारविहीन लोकप्रियतावादलाई रोक्न नयाँ ध्रुवीकरण आवश्यक रहेको उल्लेख गर्दै उनले माओवादी त्यसतर्फ लागेको जानकारी दिए।

शनिबार साँझ उनले मध्यनेपाल नगरपालिका प्रवेश गर्दै इशानेश्वर महादेव मन्दिर क्षेत्र अवलोकन गरेका थिए। आइतबार बिहान भने माओवादी युद्धका शहीद राममणि भट्टराईको घर पुगेर परिवारलाई भेटेका थिए।

माओवादी गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानका अनुसार आइतबार लमजुङको सुन्दरबजारमा आयोजना हुने जनसभालाई सम्बोधन गरेपछि प्रचण्ड गोरखा प्रवेश गर्ने कार्यक्रम छ।

यस अभियानमा माओवादी उपाध्यक्षहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, अग्नि सापकोटा, महासचिव देव गुरुङलगायतका नेताहरू पनि सहभागी छन्।

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com