गोदावरी । नेकपा (एमाले) को विधान महाधिवेशनको तेस्रो दिन समूहगत छलफल प्रतिवेदन पेस गर्दै विभिन्न प्रदेशका नेताहरूले पार्टीको आगामी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली नै निर्विकल्प भएको निष्कर्ष प्रस्तुत गरेका छन्।

आइतबार बिहान ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा समूहगत नेताहरूले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित आयोगका प्रतिवेदनहरूमा केही सुझाव दिए पनि मूल धारमा समर्थन जनाएको बताए।

advertisement

सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले प्रतिवेदनप्रति पूर्ण सहमति जनाउँदै भने, ‘हाल पार्टीको नेतृत्वका लागि अध्यक्ष ओलीकै विकल्प छैन भन्ने हाम्रो समूहको ठहर हो।’ उनले समर्थन गर्दै कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले थपे, ‘यो नेतृत्वलाई अझै सबल बनाउने समय हो। भावी नेतृत्वमा ओली नै उपयुक्त व्यक्ति हुन्।’

लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। गण्डकी प्रदेशका उपाध्यक्ष मीनप्रसाद गुरुङले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न प्रतिवेदनहरूले स्पष्ट बाटो देखाएका छन्।’

बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले समूहभित्र ७० वर्षे उमेर सीमा र दुई कार्यकालको व्यवस्था हटाउनुपर्ने धारणा धेरैले राखेको बताए। उनले थपे, ‘चीन भ्रमणका क्रममा लिपुलेक विषयमा चीनका राष्ट्रपतिसमक्ष स्पष्ट अडान राखेका कारण केपी शर्मा ओलीलाई राजनेताको रूपमा उच्च सम्मान दिनुपर्छ भन्ने निष्कर्ष हाम्रो समूहको छ।”

मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डलले पनि आगामी महाधिवेशनबाट ओलीलाई निरन्तर नेतृत्व दिनुपर्नेमा जोड दिए। उनले भने, ‘देशी–विदेशी शक्तिबाट पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बेला बलियो नेतृत्व स्थापित गर्न ओलीकै निरन्तरता अपरिहार्य छ।’

कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले उपाध्यक्ष पौडेलले प्रस्तुत गरेको विधान संशोधनको स्वागत गर्दै ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्तावलाई समर्थन गरे। साथै उनले सुझाव दिए, ‘राष्ट्रपति, उपराष्ट्रपति तथा संवैधानिक आयोगमा निर्वाचित वा नियुक्त भएका व्यक्तिहरू पुनः दैनिक राजनीतिमा फर्कन नपाउने प्रावधान विधानमै प्रस्ट्याउनुपर्छ।’

यसरी, विभिन्न प्रदेशबाट आएका समूहगत प्रतिवेदनहरूले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वलाई भावी पार्टी दिशानिर्देशनको केन्द्रबिन्दुका रूपमा प्रस्तुत गरेका छन्।

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com