काठमाडौं । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाको गाडीले ठक्कर दिँदा ललितपुरको हरिसिद्धिमा ११ वर्षीया बालिका घाइते भएकी छन्। घटनापछि गाडी चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार चालकलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग बाँडे गाउँमा राखिएको छ। मन्त्री राना नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन गोदावरी जाँदै गर्दा सो दुर्घटना भएको हो।
घाइते बालिकालाई उपचारका लागि बीएण्डबी अस्पताल पुर्याइएपछि स्वास्थ्य सुधार भएपछि डिस्चार्ज गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुमन घिमिरेले जानकारी दिए। उनका अनुसार बालिकाको सम्पूर्ण उपचार खर्च चालक पक्षले व्यहोरेको छ।
घटनास्थल निरीक्षणमा सीडीओ घिमिरे र एसएसपी श्यामकृष्ण अधिकारी पुगेका थिए। प्रारम्भिक अनुसन्धानमा जेब्रा क्रसिङपछि बाटो काट्न खोज्दै गरेकी बालिकालाई गाडी पास हुने क्रममा ठक्कर दिएको देखिएको घिमिरेले बताए।
तर, दुर्घटनापछि मन्त्री सवार गाडी रोकिने बदला सरासर अघि बढेको भन्दै स्थानीय आक्रोशित बनेका थिए। हरिसिद्धामा प्रदर्शन र सडक अवरोध भएपछि एमाले विधान महाधिवेशन सुरु हुन ढिलाइ भएको थियो।
उक्त महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले घटनालाई ‘सामान्य दुर्घटना’ को संज्ञा दिएका थिए।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार












प्रतिक्रिया