काठमाडौं । नेकपा (एमाले) ले हालसम्म देशभरका ६८ जिल्लामा आफ्नै पार्टी कार्यालय भवन निर्माण भइसकेको जनाएको छ। तर ९ जिल्लामा भने अझै कार्यालय भवन नभएको तथ्याङ्क सार्वजनिक गरेको छ।
ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा पेश गरिएको लेखा आयोगको प्रतिवेदनमा भनिएको छ, ‘भूगोलका ६८ जिल्लामा जिल्ला कमिटीका आफ्नै स्वामित्वका भवन छन्।’
भवन नबनेका जिल्लामा भोजपुर, रूपन्देही, बाग्लुङ, मुस्ताङ, मनाङ, काठमाडौं, भक्तपुर, रसुवा र डोल्पा रहेका छन्। नयाँ जिल्ला पूर्वी रुकुम र नवलपुरमा भने पार्टी कार्यालयका भवन निर्माण भइसकेको प्रतिवेदनमा उल्लेख छ।
रूपन्देही, बाग्लुङ र भोजपुरमा कार्यालयका लागि जमिन भए पनि भवन नबनेको, सल्यान र डडेल्धुरामा भवन तथा जमिन दुवै भए पनि अझै पार्टी नाममा दर्ता नभएको जानकारी दिइएको छ। पश्चिम रुकुम र जाजरकोटमा रहेका कार्यालय भवन भने भूकम्पका कारण जीर्ण अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ।
महानगर र उपमहानगरपालिकामध्ये धरान र इटहरी उपमहानगर कमिटीले व्यवस्थित भवन निर्माण गरी कार्यालय सञ्चालन गरिरहेको बताइएको छ। यस्तै, स्थानीय तहका अन्य धेरै कमिटीका आफ्ना जमिन तथा कार्यालय भए पनि आयोगमा त्यसको तथ्याङ्क उपलब्ध नभएको प्रतिवेदनमा जनाइएको छ।
जनसंगठनहरूको हकमा जिफन्टसँग मात्रै आफ्नै स्वामित्वको भवन रहेको उल्लेख छ। पेशागत महासंघ, नेपालसँग पनि विगतमा भवन रहेकोमा विभाजनपछि अहिले अन्य समूहहरूले प्रयोग गरिरहेको आयोगले जनाएको छ।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार












प्रतिक्रिया