काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को जारी विधान महाधिवेशनमा प्रस्तावित उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने विषयबारे केही सञ्चार माध्यममा गलत प्रचार भएको एमाले प्रचार विभागले स्पष्ट पारेको छ।
महाधिवेशनमा भइरहेका छलफल र गतिविधिबारे जानकारी दिँदै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए, ‘७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने विषयमा केही सञ्चार माध्यमले अधुरा वा गलत जानकारी सार्वजनिक गरेका छन्। वास्तवमा यो संशोधनबारे भित्री छलफल जारी छ।’
बैठकमा बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनुपर्ने विषयमा अधिकांशले समर्थन जनाएको जानकारी दिए। गौतमका अनुसार ढुंगेल नेतृत्वको समूहमा केही सदस्यले दुवै प्रावधान हटाउन नहुने सुझावसमेत राखेका थिए।
यस्तै, कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधनलाई स्वागत गर्दै ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रस्तावलाई सकारात्मक रूपमा लिएको जानकारी गौतमले दिएका छन्।
महाधिवेशनको छलफलमा सातै प्रदेशका १० समूहका नेताहरूले भावी पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको निष्कर्ष सहित प्रतिवेदन पेश गरेका पनि प्रचार विभागले जनाएको छ।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार












प्रतिक्रिया