काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अझै पनि जनताको बहुदलीय जनवाद (जबज)को मार्गनिर्देशनमा अगाडि बढिरहेको स्पष्ट पारेका छन्।
पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आइतबार नेताहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले एमालेले जबज परित्याग गरेको भन्ने प्रचार गलत भएको बताए। पोखरेलले ‘एमालेले जबज छोड्यो’ भन्ने समाचारलाई निराधार भन्दै त्यस्तो भ्रम फैलाउन नदिन सञ्चारकर्मीलाई आग्रह गरे।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महासचिव पोखरेलले जबजलाई लिएर अनावश्यक विवाद सिर्जना नगर्न चेतावनी दिएका थिए। गौतमले पोखरेललाई उद्धृत गर्दै भने, हाम्रा सबै दस्तावेजमा जबजकै मार्गदर्शनमा अघि बढिरहेका छौं, त्यसैले यसबारे अनर्गल प्रचार नगर्न आग्रह गरिएको हो।
गौतमले एमालेको जबज यात्राबारे विस्तृत जानकारी दिँदै अध्यक्ष केपी शर्मा ओलीले निरन्तर यस विचारलाई अगाडि बढाउँदै आएको बताए। उनका अनुसार पाँचौँ राष्ट्रिय महाधिवेशनमा मदन भण्डारीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, भरतमोहन अधिकारीले लेखेको प्रारम्भिक कार्यक्रम, भण्डारीले पुनः लेखेको अन्तिम कार्यक्रम र माधव नेपालले तयार पारेको विधानमार्फत एमाले जबजको आधारमा उभिएको हो। कार्यनीति भने तत्कालीन समयमा ओलीले तयार पारेको र महाधिवेशनले पारित गरेको उनले स्मरण गराए।
गौतमले महासचिव पोखरेलको भनाइ उद्धृत गर्दै भने, एमाले जननेता मदन भण्डारीले अघि सारेको जबजलाई निरन्तर समृद्ध बनाउँदै आएको छ। पार्टी नेतृत्वले त्यही मार्गदर्शनमा संगठनलाई अगाडि बढाइरहेको छ।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार













प्रतिक्रिया