ललितपुर ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई हेप्ने प्रवृत्ति कुनै हालतमा सहन नसकिने बताएका छन्।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनको अन्तिम दिन शुक्रबार प्रतिनिधिहरूलाई सम्बोधन गर्दै ओलीले बेथिति र हेपाहा प्रवृत्तिको सदैव विरोधमा उत्रिने बताएका हुन्।

advertisement

प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रियता कविता हैन, छन्द हैन, क्षणिक स्वार्थ हैन। हामी वाक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिएर आएका शक्ति हौँ। सामाजिक सञ्जालका विरुद्धमा नेकपा एमाले छैन। नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर कानुनबमोजिम नबस्ने कुरा सह्य हुँदैन। अहिले केही मान्छेहरु विरोधमात्रै गर्ने पात्र पुतलीजस्ता भएका छन्।’

उनले बुद्धिजीवीसम्बन्धी धारणा राख्दै भने, ‘कहलिएका बुद्धिजीवीहरुको चिन्तन नै स्वतन्त्र छैन। आफूलाई ठूलो बुद्धिजीवी भन्नेहरूले कस्ता कुराबाट समाजलाई प्रभावित गर्न खोजेका छन् भन्ने देखिएकै छ। पछिल्लो समयमा ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको छ, तर ‘जेनजी’ पुस्ता देशलाई माया गर्छ।’

सामाजिक सञ्जाल दर्ता सम्बन्धी सरकारी निर्णयबारे उल्लेख गर्दै ओलीले थपे, ‘अहिले चार जना मानिसको रोजगारी खोसिएकोभन्दा देशको स्वाधीनता ठूलो हो। देशको कानुन नमान्ने, संविधान नमान्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सार्वभौमसत्ताको कुरालाई नमान्ने पनि कहीँ हुन्छ? स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ, स्वाभिमानबाट स्वतन्त्रता प्राप्त हुन्छ।’

उनले असमानता कम गर्दै विभेद अन्त्य गर्ने एमालेको नीति रहेको उल्लेख गर्दै छलफलमार्फत तय नीतिलाई अङ्गीकार गर्दै ‘मिसन ८४’ को अभिभारा पूरा गर्नेगरी पार्टी अघि बढिरहेको पनि स्पष्ट पारे।

 

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com