लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादीप्रति जनताको आशा, भरोसा र साथ रहेको बताउएका छन।
मध्यपहाडी लोकमार्ग अभियानअन्तगर्त आज लमजुङको सुन्दरबजार नगरपालिका-९ स्थित भाेँटेओडारमा आयोजित सभामा आफू सरकारको नेतृत्वमा रहेका बेला देश र जनताको पक्षमा काम गरेकाले अहिले पनि जनताको आशा, भरोसासहित साथ रहेको धारणा राखे । आफ्नो पार्टी अहिले सरकारबाहिर रहे पनि जनता केन्द्रित भएर काम गरिरहेको उल्लेख गरे।
अन्य पार्टीका नेतृत्वले माओवादी अल्पमतमा पुगेको भन्नेमा कुनै सत्यता नभएको बताउँदै अध्यक्ष दाहालले पार्टीले गरेका सकारात्मक कामको मूल्याङ्कन गर्दै पार्टीप्रति जनताको साथ रहेको बताए । उनले आगामी निर्वाचनमा माओवादी केन्द्र मुलुकको ठूलो दल बन्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले माओवादी नेतृत्वको पहिलो सरकारका बेला मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, उत्तर-दक्षिण करिडोर निर्माण, गरिब किसानका लागि रु ३० हजारसम्मको ऋण मिनाहालगायत काम गरेको स्मरण गरे । उनले भने “दोस्रो कार्यकालमा सविधान निर्माणदेखि लोडसेडिङ अन्त्य गर्दै अन्य मुलुकलाई बिक्री गरेर देशलाई आर्थिक विकास गरेका थियौँ ।”
तेस्रो कार्यकालमा जलवायु न्यायको मुद्दा अन्तरराष्ट्रियस्तरमा उठाउने, भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गर्ने, चीनसँग १४ नाका खोल्ने, सुशासनको अभियान सञ्चालन गर्नेलगायत काम भएका अध्यक्ष दाहालले दाबी गरे । पार्टीले जनताका पक्षमा प्रशस्त काम गरे पनि प्रचारप्रसार नगर्दा जनतासम्म पुग्न नसकेको उनको भनाइ छ ।
यो अभियानले जनतालाई सत्य/तथ्य बुझ्न र भविष्यमा सही बाटो देखाउन सहयोग पुर्याउने अध्यक्ष दाहालले विश्वास व्यक्त गरे । कार्यक्रममा अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, नन्दकिशोर पुन, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङलगायत नेताहरूको सहभागिता थियो ।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार













प्रतिक्रिया