ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको प्रतिवेदन पार्टीको दोस्रो विधान महाधिवेशनमा पेस भएको छ।
महाधिवेशनमा विभिन्न समूहगत छलफलका क्रममा नेताहरूले पार्टी नेतृत्वमा ओलीकै निरन्तरताको पक्षमा राय दिएका एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले बताए।
गौतमका अनुसार छलफलका क्रममा व्यक्त भनाइबारे केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको बताएका छन्। विधान संशोधनसँग सम्बन्धित उमेर हद र दुई कार्यकालको विषयमा समेत केही सञ्चारमाध्यमले भ्रामक समाचार दिएको दाबी उनले गरे।
सात भूगोल र तीन गैर-भूगोल समूहका नेताहरूले उठाएका विषयलाई समेटेर बन्दसत्रमा प्रतिवेदन पेश गरिएको गौतमले जानकारी दिए। ती प्रतिवेदनमा राष्ट्रपति, उपराष्ट्रपति लगायत संवैधानिक पदमा पुगेका व्यक्तिले पार्टीमा फर्कन नपाउने व्यवस्था विधानमै गर्न सुझावसमेत दिइएको छ।
प्रतिवेदन पेश गर्ने नेतामध्ये सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी, कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, गण्डकी प्रदेश उपाध्यक्ष मीनप्रसाद गुरुङ, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, गैर-भूगोल समूहका शिव अधिकारी, चुडामणि जंगली र भक्त गुरुङ रहेका छन्।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार












प्रतिक्रिया