काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले जेनजी पुस्ताले सुरु गरेको ‘नेपो बेबी’ अभियानमा आफ्नो छोरी–ज्वाइँको तस्बिर प्रयोग गरी भ्रम फैलाइएको भन्दै कडा आपत्ति जनाएका छन्। उनले यो अभियानलाई स्वतन्त्र वा रचनात्मक आन्दोलन नभई अराजकतावादी प्रवृत्तिले चलाएको दाबी गर्दै सामाजिक मर्यादा उल्लंघन गर्नेहरूलाई कानूनी कारबाही गर्न माग गरेका छन्।
फेसबुकमार्फत प्रतिक्रिया दिँदै बस्नेतले लेखेका छन्, ‘हाल चर्चामा आएको ‘Gen Z Nepo Baby अभियान’ कुनै स्वतन्त्र वा रचनात्मक आन्दोलन होइन। पुनरुत्थानवादी र अराजकतावादी तत्वहरूले राज्य, त्यसका संयन्त्र, स्थापित दल र नेताहरूमाथि बदनाम गर्न सोसल मिडिया र पेड मिडियालाई हतियार बनाएको घृणित प्रयास असफल भएपछि, अब त्यसैलाई अफवाहका रूपमा प्रयोग गरेर लोकप्रियता कमाउने कोसिस भइरहेको छ।’
उनले आफ्नी छोरीको विवाहलाई समेत तोडमोड गरी टिकटकमार्फत गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्। बस्नेतले थपे, ‘म स्पष्ट चुनौती दिन्छु— मेरो छोरी, ज्वाइँ वा मेरो परिवारले नातावाद वा कृपावादमार्फत कुनै सुविधा दुरुपयोग गरेका छैनन्। मेरो सम्पत्ति र जीवनशैली पूर्ण पारदर्शी छ, जसको पुष्टि गर्न म जुनसुकै स्थानमा तयार छु।’
बस्नेतका अनुसार चिकित्सक छोरी र राष्ट्रसेवक ज्वाइँको सामाजिक मर्यादामाथि आँच पुर्याउने, मानसिक यातना दिने र अफवाह फैलाउने गतिविधि आपराधिक प्रकृतिका हुन्। उनले रास्वपाका केही विवादास्पद व्यक्तिहरूले व्यक्तिगत विवादमा समेत आफ्नो नाम जोड्ने प्रयास गरेको आरोप लगाउँदै त्यस्तो प्रवृत्तिको भर्त्सना गरे।
उनले भने, ‘सरकारलाई मेरो माग छ— यस्ता अपराधी तत्वहरूलाई तुरुन्त कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ। साथै टिकटकजस्ता प्लेटफर्मलाई द्वेष फैलाउने माध्यम बन्न नदिन कडाइ गर्नुपर्छ।’
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार












प्रतिक्रिया