- Symbolic Photo
काठमाडौं । ‘जेन जी’ पुस्ताले सोमबार आयोजना गर्न लागेको भ्रष्टाचारविरुद्धको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले औपचारिक अनुमति प्रदान गरेको छ।
प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति दिइएको र आवश्यक सुरक्षा व्यवस्थाहरू मिलाइने बताए।
उनका अनुसार, प्रदर्शनका आयोजक युवाहरूले कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण र भद्र हुने प्रतिबद्धता जनाएका छन्। प्रजिअ रिजालले भने, ‘उहाँहरूले हामी भद्र तरिकाले प्रस्तुत हुन्छौं, कुनै नाराबाजी वा तोडफोड हुँदैन, केवल टी-शर्ट लगाएर शान्तिपूर्ण प्रदर्शन मात्र गर्ने बताएका छन्।’
प्रशासनले प्रदर्शनका लागि माइतीघरदेखि एभरेष्ट होटलसम्मको क्षेत्र तोकेको छ।
‘वेक अप नेपाल क्याम्पेन’ का संयोजक सबल गौतम र पुरुषोत्तम यादवले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर शान्ति सुरक्षाको पूर्ण व्यवस्था मिलाइदिन आग्रह गरेका थिए। पत्रमा भनिएको छ, “स्वतन्त्र युवाहरूको सहभागिता हुने भएकाले कार्यक्रम सुव्यवस्थित, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न होस् भन्ने उद्देश्यले सहकार्य आवश्यक छ।”
सरकारले दर्ता नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि, जेन जी पुस्ताले भ्रष्टाचार र सरकारी निर्णयको विरोधमा सडकमा प्रदर्शन गर्ने घोषणा गरेका थिए।
यसैअनुरूप, उनीहरूले सोमबार बिहान ११ बजे माइतीघरमा प्रदर्शनका लागि औपचारिक अनुमति मागेका हुन्।
प्रजिअ रिजालले भने, ‘प्रशासनले प्रदर्शन शान्तिपूर्ण रहोस् र कुनै अप्रिय घटना नहोस् भन्नका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गर्नेछ। हामी भोलि परिस्थितिको मूल्यांकन गरी सुरक्षाकर्मीको संख्या बढाउने छौँ।’
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार













प्रतिक्रिया