काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण नभई व्यवस्थित, मर्यादित र जवाफदेही बनाउन खोजेको स्पष्ट पारेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संरक्षण गर्ने प्रतिबद्धता दोहोर्याउँदै सूचीकृत नभएका सामाजिक सञ्जाल प्रयोग गर्न भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) नगर्न आम नागरिकलाई आग्रह गरिएको छ।
सर्वोच्च अदालतको निर्देशनात्मक आदेशपछि सूचीकृत प्रक्रिया तीव्र पारिएको मन्त्रालयले जनाएको छ। गत भदौ १२ गते जारी सात दिनको सूचनापछि सम्पर्कमा नआएका सञ्जालहरू नेपालभित्र निष्क्रिय गरिएका छन्। मन्त्रालयका अनुसार हालसम्म ‘हाम्रो पात्रो’ र ‘ग्लोबल डायरी प्रालि’ सूचीकरण भई सक्रिय भएका छन् भने ‘एक्स’ र ‘वी च्याट’ सूचीकरणका लागि आवश्यक जानकारी मागेका छन्।
सूचीकरण शुल्कविहीन हुने र प्रक्रिया पूरा गरेपछि निष्क्रिय गरिएका सञ्जाल तुरुन्त सक्रिय गरिने मन्त्रालयले स्पष्ट पारेको छ। साथै, सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन अनुगमन अधिकारी तोकेर सूचीकरणमा सहभागी हुन सबै सामाजिक सञ्जाललाई पुनः आह्वान गरिएको छ।
सरकारले लिएको निर्णय कार्यान्वयनमा सहयोग गर्न नागरिक र सरोकारवालाहरूलाई पनि मन्त्रालयले आग्रह गरेको छ।


प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार













प्रतिक्रिया