काठमाडौं । परिवारका सदस्य वा शक्तिशाली नातागोताको कारण अवसर, सम्पत्ति वा पद पाउने सन्तानलाई जनाउने शब्द हो, ‘नेपो बेबी’ । योग्यता वा क्षमता भन्दा नातावादका कारण पद वा शक्ति प्राप्त गर्नेहरूलाई नेपो बेबी भन्ने गरिन्छ । इन्डोनेसियाबाट फिलिपिन्स हुँदै नेपाल भित्रिएको यो अभियानले केही दिनयता भने सामाजिक सञ्जाल मात्र होइन, नेपाली राजनीतिलाई नै तताएको छ।
नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘नेपो बेबी’ अभियान अन्तर्गत टिकटक र इन्स्टाग्राममार्फत राजनीतिक पदमा रहेकाहरूका सन्तानको तडकभडक र महँगो जीवनशैलीमाथि सार्वजनिक रूपमा प्रश्न उठाएका छन् । खासगरी ‘जेन-जी’ पुस्ता अर्थात् सन् १९९७ यता जन्मिएका सामाजिक सञ्जाल प्रयोगकर्ताले राजनीतिज्ञ, उच्च पदस्थ सरकारी कर्मचारी तथा न्याय क्षेत्रका व्यक्तिहरूका सन्तानको महँगो जीवनशैलीसँग सम्बन्धीत तस्बिर तथा भिडियोहरू सार्वजनिक गर्दै त्यसको स्रोतमाथि प्रश्न उठाइहरेका छन् ।
जेन-जी पुस्ताले सार्वजनिक गरेका तस्बिर तथा भिडियोहरूमा नेता तथा उच्च पदस्थ कर्मचारीहरूका सन्तानका लक्जरी गाडी, महँगो विदेश यात्रा र ब्रान्डेड सामानहरू देखाइएको छ । नेता तथा कर्मचारीका सन्तानले महँगो र विलाशी जिवनशैली बाँच्नका लागि जनताको कर तथा राज्यको स्रोतको दुरूपयोग गरेको ‘नेपो बेबी’ अभियानका समर्थकहरूको दाबी छ ।
जनताको करबाट जीवन निर्वाह गर्नुपर्ने बाध्यतामा रहेका नेता तथा सरकारी कर्मचारीका सन्तानको विलाशी जीवनशैली र कर तिर्ने नागरिकको टिठलाग्दो जीवनशैलीलाई तुलाना गर्दै अभियानका समर्थकहरूले हजारौं भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
अभियानका समर्थकहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र उनको छोरी गंगा र नातिनी स्मिता, एकीकृत समाजवादीका नेता तथा पूर्व स्वास्थमन्त्री विरोध खतिवडा र उनको छोरी शृंखला खतिवडा लगायतको जीवनशैली भिडियोमा एक्सपोज गरेका छन्। कांग्रेस नेता तथा गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापा र उनका छोरा सौगात थापाले क्रिसमसमा विभिन्न महँगा अन्तराष्ट्रिय ब्रान्डको सामानसहित क्रिसमस ट्री बनाएको तस्बिर त भाइरल नै बनेको छ ।
३० करोडभन्दा बढिको भ्रष्टाचारको मुद्दा खेपिरहेकी नेपाल टेलिकमकी महाप्रबन्धक संगीता पहाडीको सन्तानको जीवनशैली, महेश बस्नेतको छोरीको भव्य विवाहका तस्बिर अनि विवादित पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीका सन्तानको जीवनशैलीका भिडियो र तस्बिरहरू पनि ‘नेपो बेबी’ अभियानका समर्थकहरूले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
त्यस्तै, उनीहरूले भिडियोमा एमाले सांसद एकनाथ ढकाल, राप्रपा नेता दीपक बोहोरा, पूर्व प्रहरी प्रमुख लगायतका सन्तान र उनीहरूको महँगो जीवनशैलीमाथि प्रश्न उठाएका छन् । ती तस्बिर तथा भिडियोसँगै नेपो बेबी अभियानका समर्थकहरूले दिनरात मेहनत गरेर कर तिर्ने सामान्य नेपालीको अवस्था झल्काउने तस्बिरहरू समेत राखेका छन् ।
ती भिडियोमा गाउँघरमा अझै पनि तुइन चढेर जोखिमपूर्ण रूपमा खोला तर्नुपरेका, रोजगारीका लागि विदेसिदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवारजन वा आफन्तसँग भक्कानिएका दृश्य, विदेशमा ज्यान गुमाएर काठको बाकसमा फर्किएको शव, गाउँघरमा अझै पनि तुइन चढेर जोखिमपूर्ण तरिकाले खोला तर्नुपर्ने तथा कष्टकर गाउँले जीवन देखाइएको छ । जनताको कर नेता र उच्च पदस्थका सन्तानको मोजमस्तीमा खर्च हुने गरेको र आम नागरिकको अवस्था भने दशकौंदेखि उस्तै रहेको भिडियोमा देख्न सकिन्छ ।
अभियानमा संलग्न अधिकांशले ‘नेताका सन्तानको मोजमस्तीका लागि दिनरात काम गर्नुपरेको’ बताएका छन् । तीमध्ये केही भिडियोमा ‘मनी मनी मनी’ बोलको र्याप तथा ‘गाई त बाँध्ने ढुङ्ग्रोमा मोही छैन मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन’ लगायत गीतको समेत प्रयो गरेका छन् । ‘हाम्रो कर कहाँ जान्छ ?’ नेताका सन्तानले राखेका महँगा गाडी, ब्रान्डेड कपडा, विदेश भ्रमण र भव्य पार्टीका तस्बिर सार्वजनिक गर्दै नेपो बेबी अभियानका एक समर्थकले प्रश्न गरेका छन् ।
कसले गर्दैछ नेतृत्व ?
हालसम्म ‘नेपो बेबी’ अभियानको नेतृत्व कसले गरेको भन्ने प्रष्ट भइसकेको छैन । तर अभियानलाई समर्थन गर्ने तथा यससँग सम्बन्धित भिडियो बनाउने अधिकांश भने ‘जेन-जी’ पुस्ताका छन् । ‘नेपो बेबी’का समर्थकहरूले भने यो स्वत:स्फूर्त अभियान रहेको र यसमा राष्ट्रवादी तथा भ्रष्टाचारविरोधीहरू जोडिएको बताउँछन् । सामाजिक सञ्जालमा सुरू भएको अभियानले उचाइ लिएसँगै भने विपक्षी दलका नेता तथा सामाजिक अभियन्ताहरू पनि यसको जस लिने होडमा लागेका देखिन्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दिपक बोहोराले समेत सामाजिक सञ्जालमा सोमबारका लागि तोकिएको प्रदर्शनबारेका तस्बिरहरू सार्वजनिक गर्दै समर्थन जनाएका छन् । ‘जेन-जीको अगुवाई जनताको साथ, सेप्टेम्बर आठ परिवर्तनको साहस,’ सामाजिक सञ्जाल फेसबुकमा विरोधसम्बन्धी तस्बिर पोष्ट गर्दै उनले लेखेका छन् ।
आफूलाई अभियन्ता बताउने मेडिकल व्यवसायी दुर्गा प्रसाईले पनि आफू ‘जेन-जी’ को अगुवाईमा हुने विरोध प्रदर्शनमा सहभागी हुने बताएका छन् । तर ‘जेन-जी’ पुस्ताका अगुवाहरूले भने प्रसाईंलाई ‘निषेध’ गर्ने जनाएका छन् । विरोध प्रदर्शनमा प्रसाईं आएको खण्डमा उनीविरुद्ध ब्यानर प्रदर्शन गर्ने अभियन्ताहरूले बताएका छन् ।
आइतबार तीनकुनेमा बसेको ‘जेन-जी’ अगुवाहरूको बैठकले उनलाई प्रसाईं माइतीघर आएमा ‘नट अलाउड’ को ब्यानर देखाउने निर्णय भएको अभियानका अगुवाहरूले बताएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले भने देशका लागि ‘जेन-जी’ पुस्ताले सुरू गरेको अभियानको समर्थन गरेका छन् । सोमबारको र्याली ‘जेन-जी’ को भएको र आफू समेत सहभागी नहुने बताएका छन् । आफू उमेर हदका कारण सहभागी हुन नसके पनि जेन-जी पुस्ताले अगुवाई गरेको अभियानमा समर्थन रहेको बालेनको भनाइ छ । अभियानमार्फत कुनै नेता वा राजनीतिक दलले आफ्नो अभिष्ट पुरा नगर्न समेत उनले चेतावनी दिएका छन् । ‘यसमा कुनै पनि नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पुरा गर्न बाठो नबन्नुहोला,’ बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म उमेर हदबन्दीको कारण जान मिल्दैन । तर उहाँहरूको कुरा बुझ्नु जरूरी छ । मेरो भरपूर समर्थन छ।’
चर्कंदै विरोध प्रदर्शन
अभियानका समर्थकहरूले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर तथा लाइक र कमेन्ट ठोकेर मात्र परिवर्तन नहुने भन्दै आन्दोलनका लागि आग्रह समेत गरेका छन् । सामाजिक सञ्जालमा आवाज उठाउएकाहरूले सडकमा उत्रिएर आफ्नो शक्ति देखाउनुपर्ने अभियानका समर्थकहरूको भनाइ छ । ‘हामी जति हामी चुप लाग्छौं, त्यति नै उनीहरूले हामीलाई शोषण गर्नेछन्,’ एक समर्थकले लेखेका छन् । सरकारले सामाजिक सञ्जाल निशर्त खुलाउनुपर्ने, बुढा नेताहरूले प्रधानमन्त्री नबन्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष नियुक्ति हुनुपर्नेलगायत माग राखेर जेन-जी पुस्ता प्रदर्शनमा उत्रन लागेको हो।
यसअघि उनीहरूले सोमबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शनको आव्हान गर्दै सामाजिक सञ्जालमा सूचनामूलक सामग्री राखेका थिए । तर त्यसको केही घण्टामा उनीहरूले उक्त क्षेत्र विरोध प्रदर्शनका लागि निषेधित रहेको र विरोध दबाउन योजना बनाइएको भन्दै प्रदर्शनस्थन परिवर्तन गरेका छन् । नयाँ सूचनाअनुसार भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन काठमाडौंको माइतीघरमा सोमबार बिहान ११ बजे गरिने जनाइएको छ । त्यस्तै अभियान अन्तर्गत काठमाडौंबाहिरका जिल्लामा प्रमुख सरकारी कार्यालय अगाडि विरोध प्रदर्शनका लागि आह्वान गरिएको छ ।
त्यसका साथै, ‘नेपो बेबी’ अभियानका समर्थकहरूले राष्ट्रिय मुद्दामा नबोल्ने कलाकार, मिडियाकर्मी, सोसियल इन्फ्लुएन्सर तथा अन्य सार्वजनिक व्यक्तिलाई अनफलो गर्ने अभियान चलाउन समेत आह्वान गरेका छन् ।
के हो ‘नेपो बेबी’ ?
योग्यता वा क्षमताका बाबजुद नातावादका कारण अवसर, पद वा सफलता पाउने बच्चा वा सन्तानालाई जनाउने शब्द हो ‘नेपोटिजम बेबी’ अर्थात् ‘नेपो बेबी’ । सन् २००९ देखि प्रयोगमा आएको ‘नेपोटिजम बेबी’ सन् २०२० देखि भने ‘नेपो बेबी’ का रूपमा प्रयोग हुन थालेको हो ।
सन् २०२२ मा न्युयोर्क म्यागजिन ले ‘द इयर अफ द नेपो बेबी’ शीर्षकको कभर स्टोरी प्रकाशित गरेपछि भने यो शब्दावली चर्चामा आएको हो । उक्त लेखमा आमाबाबु पहिले नै चर्चित रहेका लिली-रोस डेप, जेडन स्मिथ, डकोटा जोन्सन लगायतका धेरैजना हलिउडका अभिनेता, गायक, इन्फ्लुएन्सरहरूलाई सूचीबद्ध गरिएको थियो ।
सन् २००२३ र २०२४ मा भने यो शब्दावली व्यापार र राजनीतिक क्षेत्रमा समेत प्रयोगमा आयो । विश्वभर चर्चित यो शब्द पछिल्लो समय भने फिलिपिन्स र इन्डोनेसियामा चर्चामा आयो ।
इन्डोनेसियाका राष्ट्रपति राष्ट्रपति जोको विडोडो (जोकोवी) का छोरा गिब्रान राकाबुमिङ राका उपराष्ट्रपति पदका उम्मेदवार बनेपछि ठूलो विवाद उठ्यो । राजनीतिक क्षेत्रमा कुनै अनुभव र योगदान नभए पनि शक्तिको आधारमा उदाउने पुस्ताको रूपमा संकेत गर्दै उनलाई ‘नेपो बेबी’ को उपमा दिएर विरोध प्रदर्शन सुरू भयो ।
त्यसको असर फिलिपिन्समा पनि देखियो । तर फिलिपिन्समा भने यो राजनीतिक मुद्दामा भन्दा पनि सार्वजनिक पद धारण गरेकाहरूको महँगो र सुविधासम्पन्न जीवनशैली एक्सपोज गर्न केन्द्रित भयो । राजनीतिमा फैलिएको नातावाद वा परिवारवादको विरोधमा सुरू भएको आन्दोलन सामाजिक सञ्जालमार्फत फैलियो र नेपाली भूभागसम्म आइपुगेको हो ।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार













प्रतिक्रिया