काठमाडौं । जेन–जी पुस्ता (सन् १९९७ देखि २०१२ बीच जन्मिएका) ले सोमबार बिहान ९ बजेदेखि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनको अनुमति दिइसकेको प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिएका छन्। उनका अनुसार शान्तिपूर्ण भेला तथा मार्च निषेधित क्षेत्र बाहेकका स्थानमा रोकिएको छैन। उनले आवश्यक परे सुरक्षाकर्मीको संख्यामा वृद्धि गर्न सकिने बताए।

advertisement

जेन–जीले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध संघर्ष गर्नुपर्ने भन्दै केही दिनयता आह्वान गर्दै आएका थिए। आइतबार नै केही युवाहरू माइतीघरमा भेला भएर व्यवस्थापनसम्बन्धी छलफल गरेका थिए। छलफलअनुसार सोमबार बिहान ९ बजे माइतीघरमा भेला भई करिब ११ बजे मार्च गर्दै बानेश्वरसम्म जाने कार्यक्रम तय भएको छ।

प्रदर्शनको क्रममा कुनै भाषण नहुने, बरु नाचगान र सिर्जनशील प्रस्तुतिहरू गरिने युवाहरूले बताएका छन्। उनीहरूको भनाइअनुसार यो आन्दोलन कुनै एक व्यक्ति वा संस्थाले आयोजना गरेको होइन, साना समूहहरू मिलेर स्वतःस्फूर्त रूपमा अघि बढाइएको हो।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यक्रममा प्रत्यक्ष उपस्थित नभए पनि समर्थन जनाएका छन्।

यता, ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले पनि जेन–जीको आन्दोलनमा सहभागी हुने घोषणा गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। तर धेरै जेन–जी युवाहरूले उनको उपस्थिति अस्वीकार गर्दै विरोध जनाएका छन्। केही युवाहरूले प्रसाईंलाई फोनमार्फत कार्यक्रममा नआउन आग्रह गरेको र उनले समेत नआउने जवाफ दिएको सहभागीहरूले बताएका छन्।

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com