काठमाडौं । सरकारविरुद्ध सडकमा उत्रिएका (Gen Z जेन–जेड) युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर च्यातेका छन्। माइतीघरदेखि नयाँबानेश्वरतर्फ अघि बढेको जुलुसले बबरमहलस्थित नेपाल टेलिकम कार्यालय अगाडि पोलमा राखिएको ओलीको फोटो झारेर च्यातेको हो।
भ्रष्टाचार, बेथिती र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधस्वरूप युवाहरू स्वस्फूर्त रूपमा सडकमा उत्रिएका हुन्। उनीहरूले माइतीघरबाट अघि बढ्दै नयाँबानेश्वरतर्फ नाराबाजीसहित प्रदर्शन गरेका छन्।
राष्ट्रिय झण्डा बोकेर सहभागी भएका प्रदर्शनकारीले ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टलाई गिज्याउँछ’, ‘कता गयो कर?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ लगायतका नारा लेखिएका प्लेकार्डसहित सडकमा उपस्थित भएका थिए। कतिपय विद्यार्थी विद्यालय–कलेजको पोशाकमै प्रदर्शनमा देखिएका छन्।
यस आन्दोलनलाई विभिन्न राजनीतिक दल, समूह तथा स्वतन्त्र व्यक्तिहरुले समर्थन जनाए पनि जेन–जेडले प्रदर्शनमा दलका नेता–कार्यकर्तालाई सहभागी नगराउने घोषणा गरेका छन्।
प्रदर्शनकारीहरूले सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, रुख–बिरुवा नबिथोल्ने, आगजनी र तोडफोड नगर्ने, धाकधम्की नदिने तथा शान्तिपूर्ण ढंगले जिम्मेवार नागरिकका रूपमा प्रस्तुत हुने प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनीहरूको भनाइमा, आन्दोलन पूर्ण शान्तिपूर्ण रहनेछ।
यद्यपि सम्भावित घुसपैठ रोक्न सुरक्षाकर्मीहरूको उपस्थिति थप गरिएको छ।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया