काठमाडौं । साना वामपन्थी दलबीच एकता प्रयास जारी रहँदा नेकपा (एमाले) ले आफूलाई जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा वाम जनमत ध्रुवीकरणको केन्द्रका रूपमा प्रस्तुत गरेको छ।
ललितपुरको गोदावरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित गरेको २९ बुँदे समसामयिक प्रस्तावमार्फत एमालेले नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा आफू नै मुख्य धारा भएको दाबी गर्दै वाम विचारधारामा विश्वास गर्ने जनतालाई एमालेमा गोलबन्द हुन आह्वान गरेको हो।
प्रस्तावमा भनिएको छ, नेकपा (एमाले) एकता र एकीकरणको प्रमुख वाहक हो। जबजको सैद्धान्तिक आलोकमा सुदृढ संगठन र प्रभावशाली नेतृत्वको वरिपरि वामपन्थी जनमत एकताबद्ध हुनु आजको आवश्यकता हो।
एमालेले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वपछि मुलुकको अर्थतन्त्र क्रमशः सुधारतर्फ लागेको र राजनीतिक स्थायित्वको आधार तयार भएको दाबी गरेको छ। कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमतिको आधारमा बनेको सरकार अहिले चौध महिनामा प्रवेश गरिसकेको उल्लेख गर्दै प्रस्तावमा दुई प्रमुख दलबीचको सहकार्यले स्थायित्व सुनिश्चित गरेको दाबी गरिएको छ।
त्यसका साथै, सडक, सिँचाइ, सुरुङमार्गलगायत ठूला पूर्वाधार निर्माणमा गति आएको, आन्तरिक तथा बाह्य लगानीका लागि कानुनी तथा संरचनागत सुधार गरिएको र संघीय संसदमा रोकिएका विधेयक पारित गर्न प्रगति भएको एमालेको दाबी छ।
विदेशनीति सम्बन्धी भागमा भने, प्रधानमन्त्री ओलीको चीन, संयुक्त राष्ट्रसंघ, स्पेन, थाइल्याण्ड र तुर्कमेनिस्तान भ्रमणलाई एमालेले उल्लेख गरेको छ। प्रस्तावअनुसार, यी भ्रमणहरूले द्विपक्षीय तथा बहुपक्षीय मञ्चमा नेपालको उपस्थिति र पहिचानलाई मजबुत बनाएको छ।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया