काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गरेको निर्णयविरुद्ध आन्दोलित युवाहरूले सोमबार नयाँबानेश्वरस्थित संघीय संसद् भवन वरिपरि प्रदर्शन केन्द्रित गरेका छन्।
काठमाडौं प्रशासनले दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शनकारीहरू सडक छाड्न तयार भएनन्। आदेशको अवज्ञा गर्दै उनीहरूले संसद् भवन घेराउ गरी नाराबाजीलाई अझै तीव्र बनाए।
संसद् भवनतर्फ प्रवेश गर्ने प्रयासमा युवाहरू बारम्बार प्रहरीले अवरोध गरेपछि स्थिति तनावपूर्ण बन्यो। थापागाउँ हुँदै सिंहदरबारतर्फको बाटोमा समेत प्रदर्शन फैलिएको थियो। प्रहरीले भीड नियन्त्रणका लागि दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गर्नुका साथै हल्का लाठीचार्जसमेत गर्यो।
आक्रोशित प्रदर्शनकारीहरूको एक समूह अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मूल गेटनजिकै रहेको सुरक्षाकर्मीको सानो चौकीमा चढेर राष्ट्रिय झण्डा फहराए। त्यहाँबाट उनीहरूले साथीहरूलाई संसद् भवनभित्र पस्न आह्वान गरेका थिए। सुरक्षाकर्मीले बल प्रयोग गरी हटाउन खोज्दा युवाहरू दुई नम्बर गेटसम्म पुगे, जहाँ सांसदहरू भित्रिने गेट रहेको छ। त्यहाँ पनि प्रहरीले हवाइफायरसहित बल प्रयोग गरी भीडलाई तितरबितर गर्न खोजेको थियो।
कहिलेकाहीँ प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा र पानीको बोतल प्रहार गरेका थिए भने, प्रहरीले संसद् भवनको मूल गेट वरिपरि पटक–पटक अश्रुग्यास फ्याँकेर भीड नियन्त्रण गर्न खोज्यो।
सडकमा देखिएका प्रदर्शनकारीमध्ये धेरैजसो विद्यार्थी थिए। कतिपय स्कुल–कलेजको पोशाकमै, झोला बोकेरै आन्दोलनमा सहभागी भएका देखिन्थे। कोही किशोरलाई काँधमा बोकेर राष्ट्रिय झण्डा फहराइँदैथियो।
उनीहरूले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार, राजनीतिक नेतृत्वको बेथिति र सत्ताधारी नेताका परिवारको विलासी जीवनशैलीविरुद्ध कडा स्वरमा प्रश्न उठाए। संसद् भवन वरिपरि भीड बाक्लिँदै जाँदा बानेश्वर क्षेत्र दिनभरै तनावग्रस्त बनेको थियो।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया