काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी युवाहरूले उठाएका माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेका छन्। मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रहेका प्रचण्डले युवाहरूको मागलाई जायज ठहर गर्दै तत्काल समाधान गर्न आवश्यक रहेको बताएका हुन्।
सोमबार नयाँ बानेश्वरमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको घटनाप्रति उनले आपत्ति जनाएका छन्। यस क्रममा ७०–८० जना घाइते भएका र एक जनाको मृत्यु भएको खबर आएपछि प्रचण्डले घटनाको वास्तविकता छिट्टै सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
घाइतेहरूको स्वास्थ्य अवस्था सुधारको कामना गर्दै उनले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था तत्काल सुनिश्चित गर्न पनि आग्रह गरेका छन्। प्रचण्डले भने, ‘जेन–जी युवाहरूले उठाएका माग पूर्ण रूपमा जायज छन्। सरकारले उनीहरूको माग तत्काल पूरा गर्न आवश्यक कदम चाल्नुपर्छ। साथै प्रदर्शनमा घाइते भएका सबैको उपचार निशुल्क र प्रभावकारी ढंगले हुनुपर्छ।’
उनले शान्तिपूर्ण आन्दोलनमा हिंसात्मक कदम उठाउनु स्वीकार्य नभएको उल्लेख गर्दै, सम्बन्धित निकायहरूलाई घटनाको निष्पक्ष अनुसन्धान गर्न पनि आग्रह गरेका छन्।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार












प्रतिक्रिया