काठमाडौं । नेकपा एकीकृत समाजवादीले सोमबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीलाई तत्काल पदत्याग गर्नुपर्ने माग गरेको छ।

बैठकपछि पत्रकारहरूसँग बोल्दै पार्टीका प्रवक्ता प्रकाश ज्वालाले भने, “यति धेरै जनताको ज्यान जाने परिस्थितिमा प्रधानमन्त्री र गृहमन्त्री दुवैजना पदमा बसिरहन योग्य छैनन्, उनीहरूले राजीनामा दिनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो।”

advertisement

बैठकले हाल बन्द गरिएका सामाजिक सञ्जालका प्लेटफर्महरू तुरुन्तै पुनः सञ्चालन गर्नुपर्ने माग पनि अघि सारेको छ। “सरकारले सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको छ। बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्नु पूर्ण रूपमा गलत निर्णय हो,” विज्ञप्तिमा भनिएको छ।

पार्टीले भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरू (जेन जी) ले सुरु गरेको आन्दोलनलाई न्यायोचित ठहर गर्दै ऐक्यबद्धता जनाउने घोषणा गरेको छ। सचिवालयको निष्कर्षअनुसार सामाजिक सञ्जाल बन्द गर्ने कदमले युवाहरूमा असन्तुष्टि र आक्रोश थप भड्किएको छ।

“सरकार हिंसात्मक दमनमा उत्रिएको छ, जसमा युवाहरूको ज्यान गएको छ र सयौं घाइते भएका छन्,” प्रवक्ता ज्वालाले बताए, “हामी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छौं। तत्काल उपचारको उचित व्यवस्था हुनुपर्छ।”

एकीकृत समाजवादीले सरकारी दमनको निन्दा गर्दै वार्ता र संवादमार्फत आन्दोलनकारीको जायज माग सम्बोधन गर्न आग्रह गरेको छ। साथै, आन्दोलनलाई उत्तेजना वा मुठभेडतर्फ नलान र यसको गरिमा तथा जनसमर्थन जोगाउन प्रदर्शनकारी युवाहरूलाई संयमित रहन पनि अपिल गरेको छ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com